देशभरका ल्याबमा पिसिआर किट काम लागेन

53

काठमाडौं- नेपाली सेनाले जिटुजीमार्फत् चीनबाट खरिद गरेको पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट देशभरका ल्याबबाट अयोग्य ठहर भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किट कोरोना परीक्षण ल्याबहरुमा नपठाउन स्वास्थ्य सेवा विभागलाई सिफारिस गर्दै पत्रचार गरेको थियो। तर, विभागले प्रयोगशालाको सिफारिस विपरीत देशभरका प्रयोगशालामा पठाएको तर कोरोना परीक्षणका लागि भने अयोग्य ठहर भएका हुन्।

नेपाली सेनाले चीनबाट खरिद गरेको आरएनए एक्स्ट्र्याक्सन किट हाल कोरोना परीक्षणका लागि प्रयोग भइरहेको भिटिएमसँग मेल नखाँदा अयोग्य ठहर भएका हुन।

सेनाले चीनबाट २८ हजार पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट खरिद गरेको थियो। ती किट स्वास्थ्य सेवा विभागले राजनीतिक दबाबमा ल्याएर देशभरका ल्याबमा पठाएको थियो। तर, उक्त किट कोरोना परीक्षणका लागि कामै नलागेको प्रादेशिक अस्पताल तथा कोरोना परीक्षण गरिरहेका ल्याबका प्रमुखहरुले  जनाएका छन्।

‘नेपालमा प्रायः ३ एमएलको भिटिएममा संकलन भएको स्वाबबाट कोरानाको पिसिआर परीक्षण भइरहेको थियो,’ कोरोनाको पिसिआर परीक्षण गर्ने एक प्रयोगशालाका प्रमुखले नेपाल लाइभसँग भने, ‘तर, सेनाले खरिद गरेको आरएनए एक्स्ट्रयाक्सन किटले १ एमएलको भिटिएमसँग मात्रै मेल खाँदो रहेछ। सेनाले खरिद गरेका पिसिआर आरएनए एक्स्ट्र्याक्सन किट कामै नलाग्ने अवस्था छ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किटसँग भिटिएम किट पनि पठाउनुपर्ने भन्दै सुझाव दिएको थियो। सेनाले खरिद गरेका आरएनए एक्स्ट्र्याक्सन किटसँग मिल्ने भिटिएम किट नपठाई विभागले पुरानै भिटिएम किटमा स्वाबलाई राखी आरएनए एक्स्ट्र्याक्सन किटमा प्रयोग गर्दा समस्या आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले टेकु स्रोतले बताएको छ।

प्रयोगशालाको निर्णयलाई नमानी केही स्याम्पल वीर अस्पतालबाट परीक्षण गरी देशभरका प्रयोगशालामा पठाउँदा समस्या आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here