सलह आतंक राेक्न प्रदेश पाँचले ल्यायो किरा किन्ने योजना

313

काठमाडाैं  – कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने निश्कर्ष निकालेको थियो । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलको निष्कर्षविपरित नेपालमा सलह प्रवेश गरेको छ । बारा, पर्सा, रुपन्देही र सर्लाहीमा सलह देखिएका हुन् । तर क्षति गर्न भने नसक्ने अनुमान विज्ञहरुले गरेका छन् । तर किसानहरु चिन्तित बनेका छन् ।

दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको हो । मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको कृषि वैज्ञानिकहरुले अनुमान गरेका हुन् । प्राविधिक टोलीले अहिले फिल्डमा गएर सलहको पहिचान गर्ने काम गरिरहेको छ । नेपालमा सलह भित्रिए पनि विज्ञहरुले धेरै खतरा नरहेको दावी गरेका छन् ।

मरुभूमिमा पाइनेजस्तो धेरै खन्चुवा सलह नेपालमा नआएकाले खेति नोक्सान गर्न नसक्ने विज्ञहरको टिप्पणी छ । साथै नेपालमा मरुभूमि नभएकाले पनि सलह किराका लागि अनुकूल नहुने बताइन्छ । नेपालमा मनसुनी प्रभाव भएको र चिसो भएकाले सलहले धेरै क्षति नगर्ने अनुमान कृषि वैज्ञानिकहरुको छ । यद्यपी धानको बीउहरुमा सलह बसिदियो भने सखाप पार्ने तथा तरकारी बाली पनि नष्ट गर्ने सम्भावनालाई भने विज्ञहरुले नकार्न सकेका छैनन् । नेपालमा सलह भित्रिएसँगै कृषि मन्त्रालयद्वारा गठित टास्क फोर्सले अनुसन्धान तथा त्यसबाट हुन सक्ने क्षतिबारे छलफल गरेको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् १९६० मा काठमाडौं उपत्यकामा सलह देखिएको थियो । त्यसबेला सलहको प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । यस वर्ष भने सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि नेपालमा भित्रिएको हो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् २०१९ सुरुवाती महिनामा अहिले नेपाल आइपुगेको सलह यमनमा देखिएको थियो ।

यमनबाट अघि बढेको सलह साउदी अरेबिया, इरान हुँदै सो वर्षको डिसेम्बरमा पाकिस्तान आइपुगेको थियो । पाकिस्तानमा ठूलो क्षति गरेको सलह नयाँ वर्ष सन् २०२० को सुरुवातमा भारत र पाकिस्तान सीमा क्षेत्रमा लामो समय रहेको थियो । विस्तारै जाडो कम भएपछि पुनः बंश वृद्धि भई सलह भारत छिरेर विशाल झुण्डहरुमा तयार भएको अध्ययनले बताएको छ । त्यो झुण्ड राजस्थानबाट प्रवेश गरेर मध्यप्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अघिल्लो महिना नै अगाडि बढेको थियो ।

विज्ञहरूका अनुसार सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खान्छ । तराईमा धमाधम धान रोपाईँ भइरहेको छ भने पहाडमा मकै लगायतका बाली छन् ।

प्रदेश पाँचको सरकारले ल्यायो सलह किरा किन्ने योजना

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तेज बहादुर सुवेदी

प्रदेश नम्बर ५ सरकारले सलह किरा संकलन गरेमा प्रतिकेजी २० रुपैयाँका दरले खरिद गर्ने निर्णय गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरी सलह खरिदबारे जानकारी गराएको हो ।

मन्त्री तेज बहादुर सुवेदीले किसानले जम्मा पारेका सलहलाई खरिद गर्नेबारे जानकारी दिएका हुन् ।

सलह किरा दिउँसोको समयमा हिड्ने मात्रै भएको बताउँदै उनले रातीमा बस्ने भएकोले समात्न सकिने पनि बताए । सलह किरालाई कुखुरा, माछा, सुंगुर लगायतका जनावरको दानाको रुपमा प्रयोग गर्न सकने पनि मन्त्रालयले जनाएको छ ।

सलह किरा देखिएमा मालाथिन र क्लोरपाईरिफोस नामक बिषदी प्रयोग गर्न मन्त्रालयले सुझाब दिएको छ । मालाथिन ३ मिलिलिटर प्रति लिटर र क्लोरपाईरिफोस २ मिलिलिटर प्रति लिटर प्रयोग गर्न मन्त्रालयले सुझाब दिएको हो ।

त्यसैगरी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तत्काल धानको बिउ नरोपेका किसानहरुले व्याड ढाकेर बिउ जोगाउन आग्रह गरिन् । उनले बिउ जोगिएमा उत्पादनमा फरक नपर्ने बताउँदै आ–आफ्नो क्षेत्रबाट सबैले सलह भगाउने वा छोप्ने व्यवस्था मिलाउन आग्रह गरिन् ।

मौषम पूर्वानुमान महाशाखाले जनाए अनुसार हावा उत्तर तर्फ गईरहेकोले बुटवल हुँदै पाल्पा र गुल्मी सम्म पुग्न सक्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here