लकडाउनको ३ महिनाः १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

156

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो ।

तर, चैत ११ देखि असार १० गतेसम्मको अवधिमा अन्तारिक र अन्तर्राष्ट्रिय गरी १ हजार ८ सय ११ वटा चार्टर्ड उडान भएका छन । ती उडानमा २४ हजार ६ सय ८३ जना यात्रुले सेवा लिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको चार्टर्ड उडानको अनुमति दिने हवाई यातायात महाशाखाले शनिबार राति जारी गरेको तथ्यांक अनुसार १ हजार ८ सय ११ चार्टर्ड उडान मध्ये १ सय ६४ वटा अन्तर्राष्ट्रिय उडान रहेका छन् भने १ हजार ६ सय ४७ आन्तरिक उडान छन् । आन्तरिक चार्टर्ड उडानमध्ये १ हजार २ सय ८० घरेलु वायुसेवा कम्पनीका जहाजले गरेका थिए भने ३ सय ६७ वटा हेलिकप्टरबाट गरिएका आन्तरिक उद्धार उडान रहेका महाशाखाले जनाएको छ ।

लकडाउनको पहिलो तीन महिनामा भएको यात्रु आवागमन अन्तर्गत अन्तर्राष्ट्रियतर्फ २१ हजार ४ सय ९९ यात्रुले ओहोरदोहोर गरेका छन् । अध्यागमन विभागका अनुसार, नेपालबाट फर्किने १३ हजार ७५ यात्रु नेपालसहित कम्तीमा ७९ मुलुकका नागरिक हुन् । त्यस्तै, विदेशबाट ८ हजार ४ सय २४ जना हवाइ जहाजमार्फत नेपाल आएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र छाउनीका अनुसार नेपाल आउनेमा २१ वटा मुलुक हुँदै फर्केका ९५ प्रतिशत भन्दा बढी नेपाली नागरिक हुन् । त्यसरी नेपाल आउनेमा अधिकांस श्रम गन्तव्यमा अलपत्र परेका नेपाली छन् ।

तीन महिनाको यो अवधिमा हेलिकप्टरले ३ सय ६७ वटा उडान गरेको छ । काठमाडौंबाट भएका अधिकांस ती चार्टर्ड उडानबाट ४ सय ४० जनाले ओहोरदोहोर गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाका अनुसार यिनमा विदेशी पर्यटक तथा बिरामीको उद्धार संख्या बढी छ ।

९ वटा घरेलु वायुसेवा कम्पनीलाई व्यवसायिक उडानमा रोक लगाइए पनि ७ वटा कम्पनीका विमानले विशेष अनुमति लिएर १ हजार २ सय ८० वटा उडान गरेका छन् । ती उडानबाट १ हजार ५ सय २१ टन खाद्यान्‍न, औषधि, निर्माण सामग्री लगायतको कार्गो ढुवानी भए ।कार्गोबाहेक यी विमानले २ हजार ७ सय ४४ यात्रुलाई ओसारेको समाचार आजको कान्तिपुरले प्रकाशन गरेको छ ।