ललितपुर – आफ्नो खेतमा रोपाइँ गर्न गएका खोकनाका किसान र प्रहरीबीच झडप भएको छ।
खनजोत र रोपाइँ गर्ने क्रममा प्रहरीले अवरोध श्रृजना गरेपछि किसान र प्रहरीबीच झडप भएको थियाे ।
प्रहरीले किसानलाई लक्षित गर्दै केही सेल अश्रुग्यास हानेको छ।
फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने जनाएका छन्।
स्थानीय किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही मानिस घाइते छन्।
असार १५ गते खेत रोपाइँमा गएका खोकनाका किसानलाई पनि प्रहरीले अवरोध गरेको थियो। खेत जोत्न लगिएका ट्याक्टर नियन्त्रणमा लिएपछि स्थानीय किसानले प्रहरीविरूद्ध नाराबाजी गर्दै खेतमै प्रदर्शन गरेका थिए।