काठमाडौं – पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको जनाएपछि उनले त्यसविरुद्ध अदालतले जाने जनाएकी छन्।
गिरीले पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन्। ‘मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै नगराई निष्काशित गरेको भनियो। यो अनलफूल एक्ट हो,’ अब पार्टीको ४२५ सदस्यीय केन्द्रीय समितिले मात्र यस्तो निर्णय गर्न सक्ने उनले जनाइन् ।
‘यो कदम सङ्घीय कानुन र पार्टीको विधानविपरीत कदम हो। त्यही भएर म अब सर्वोच्च अदालत जान्छु।’
यसअघि मङ्गलवार साँझ समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न दिइएको निर्देशन उल्लङ्घन गरेको भन्दै नेत्री गिरीलाई निष्काशित गरेको जनाएको थियो। निर्णयसँगै नेत्री गिरीको सांसद पद पनि गुम्ने भएको छ।
पार्टी महासचिव रामसहाय यादव संयोजकत्वको तीन सदस्यीय कार्यदलले गरेको सिफारिस बमोजिम पार्टीले कारबाही गरेको कार्यदलका एक सदस्य मोहम्मद इस्तियाक राइले जनाए ।
‘संसदीय दलले दिएको निर्देशनलाई उल्लङ्घन गरेकोले र आचरणविपरीत काम गरेकोले पार्टी र सङ्घीय सांसद पदबाट समेत उहाँलाई निष्काशित गर्ने निर्णय गरिएको हो,’ नेता राइले थपे।
पार्टी निर्णयबारे बुधवार सङ्घीय संसद् सचिवालयलाई जानकारी गराइने उनले जनाए । निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि गिरीले संशोधन प्रस्ताव दर्ता गराएपछि त्यसलाई फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको थियो। त्यस्तै विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएकोमा मतदान प्रक्रियालाई नै नेत्री गिरीले बहिष्कार गरेकी थिइन्।
कार्यदलले स्पष्टीकरण माग्दा नेत्री गिरीले गल्ती स्वीकार गरेको र त्यो ुक्षम्य गल्ती नभएका कारणु निष्काशित गर्ने निर्णय गरिएको नेता राइले जनाए।
नेपालमा भौगोलिक अखण्डताको विषयलाई लिएर सांसदमाथि यसरी कारबाही गरिएको यसअघि आफ्नो सम्झनामा नरहेको राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन्।
कालापानी, लिपुलेक र लिम्पियाधुरा देखिनेगरी निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा नेपालका राजनीतिक दलहरूबीच अभूतपूर्व एकता देखिएको थियो। त्यसको पक्षमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल पनि दृढताका साथ उभिएको देखिएको थियो।
‘सरिता गिरीको गतिविधिलाई लिएर समाजवादी पार्टी तार्किक निष्कर्ष नपुगेको भए ओठे कुराको रूपमा लिइने थियो,’ प्राध्यापक पोखरेलले भने।
‘संशोधनका बेला उनीहरूले राज्यप्रति देखाएको अविछिन्न निष्ठामाथि नेत्री गिरीका गतिविधि चन्द्रमाको दाग जस्तै हुन्थ्यो।’
‘तर यो मामिलामा हामी गम्भीर छौँ र राष्ट्रिय एकताको विषयमा हामी प्रतिबद्ध छौँ भन्ने पुष्टि गरेका छन्,’ प्राध्यापक पोखरेलले थपे।
नेता राइले पनि राष्ट्रिय अखण्डताको पक्षमा आफूहरूले सबैलाई एउटा गतिलो सन्देश दिएको जनाउँदै भने ‘राष्ट्रिय एकता, सार्वभौमिकता, देशको भूगोल र अखण्डताको सवालमा हामी दृढ छौँ भन्ने सन्देश हाम्रो पार्टीले दिएको छ।’

















