विद्यार्थी भिसा रद्द गर्ने निर्णय अमेरिकाले फिर्ता  लियाे

16

एजेन्सी – ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा सम्बन्धी यसअघि सार्वजनिक गरेको निर्णय मंगलबार फिर्ता लिएको घोषणा गरेको छ ।

प्रशासनका अनुसार अमेरिकामा रहनका लागि अब विद्यार्थीहरुले अनिवार्य कक्षामा उपस्थित हुनुपर्ने छैन ।  केही समयअगाडि अमेरिकी आप्रवासन एवम् भिसा शुल्क प्रवर्तन विभाग, आईसीईले, कक्षा कोठामा उपस्थित नभइ अनलाइन क्लास मात्र लिनुपर्ने विद्यार्थीहरुले अर्को युनिभर्सिटी नबदलिएमा तिनलाई आफ्नो देश फर्काउन पनि सकिने जनाएकाे थियो ।

उक्त निर्णयप्रति विभिन्न प्रतिष्ठित युनिभर्सिटी, शिक्षाविद्हरु, सिकिलन भ्यालीसहित राजनीतिज्ञहरुले समेत असन्तुष्टि जनाएका थिए । यसरी अन्तर्राष्ट्रिय विद्यार्थीहरु गुमाउनुपरेमा अमेरिकी युनिभर्सिटीहरुले लाखौँ डलरको नोक्सानी बेहोर्नुपर्ने हुन्छ भने विश्व महामारी चलिरहेका बेला विद्यार्थीहरुका लागि पनि यो नीति अन्यायापूर्ण हुने बताइएको थियो ।

पछिल्लो समय कोभिड–१९ को अवस्था हेरेर थुप्रै युनिभर्सिटीहरुले अनलाइन कक्षा जारी गराउने योजना बनाइरहेका थिए । त्यसैले यही बेला यस्तो नीति लागू गर्नुले लाखौँको भविष्य जोखिममा पर्ने निश्चित छ तर यसमा कति सङ्ख्यामा छात्रहरु प्रभावित हुनेछन् भन्ने स्पष्ट जानकारी भने थिएन ।

यसमा आईसीईद्वारा सञ्चालित ‘द स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम’ ले स्प्रिङ र समर सेमेस्टरसम्म अनलाइन कोर्स भएका विद्यार्थीहरुलाई चाहिँ अमेरिकामै रहन अनुमति दिइने अस्थायि छुटको व्यवस्था मिलाएको तर त्यसपछिको नयाँ शैक्षिक शत्रका लागि भने यस्तो कुनै छुट नहुने जानकारी दिएको थियो ।

यसले विशेषगरी एफ–१ र एम–१ भिसामा अमेरिकामा बस्दै आएका विद्यार्थीहरुलाई असर पार्ने आईसीईले आफ्नो वक्तव्यमा जनाएको थियो ।

यसरी हार्भर्ड युनिभर्सिटीले आगामी शैक्षिक वर्ष आफ्ना सबै कोर्स अनलाइनमार्फत पढाइने घोषणा गरेकै दिन प्रशासनबाट सो खबर बाहिर आएको हो जबकि केही महिनासम्मका लागि अमेरिकाका ९ प्रतिशत युनिभर्सिटीले अनलाइन क्लास गर्ने योजना बनाइरहेका थिए ।

यसबारे हार्भर्ड युनिभर्सिटीका प्रमुख ल्यारी बेकोले अमेरिकी सञ्चारकर्मीहरुसँग भनेका थिए, “हामी आईसीईले जारी गरेको यो नयाँ नीतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ । किनकि अनलाइन कार्यक्रम अन्तर्गत रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु यसका कारणले जटिल समस्यामा पर्नेछन् । यसमा उनीहरुसँग कि स्कुल सर्नुपर्ने या देशै छाडेर जानु बाहेकको विकल्प हुनेछैन । त्यसैले विश्व महामारीका बीच, स्वास्थ्य र सुरक्षा सम्बन्धी चुनौतीहरुलाई सन्तुलनमा राख्दै शैक्षिक गतिविधि जारी राख्ने योजनामा रहेका हार्भर्डसहित अधिकांश युनिभर्सिटीका विद्यार्थीहरुको तर्फबाट लिइएको यो निर्णयलाई वास्तवमै  विचारशील भन्न सकिँदैन ।”

यसरी शारीरिक दुरी कायम राख्न सहज नभएकाले साधारण कोर्सलाई अनलाइन बनाइँदा यही कारणले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अमेरिकाबाट निकाल्नुले, विद्यार्थीहरुलाई नराम्ररी चोट पुग्ने भन्दै डेमोक्रेटकी वरिष्ठ सिनेटर एलिजाबेथ वारेनले पनि असन्तुष्टि जनाएकी थिइन् । यो अर्थहीन, क्रुर र भेदभावपूर्ण नीति भएको उनको आरोप थियो । उनको यही भनाइमाथि प्रकाश पार्दै संयुक्त राष्ट्र संघका लागि पूर्वअमेरिकी दूत समान्था पावरले पनि अधिकांश कलेजका विद्यार्थीहरुका लागि यो नियम अनुपयुक्त भएको बताएकी हुन् ।

न्युयोर्क युनिभर्सिटीमा पढाउने सञ्चारकर्मी एलिजाबेथ स्पायर्सका अनुसार भिसामा निर्भर उनका प्रायः विद्यार्थीहरु समय भिन्नतालगायत विभिन्न कारणवश् आफ्नो देशबाट अनलाइन कोर्स लिन नसक्ने अवस्थामा छन् जसकारण धेरैले पढाइ नै छाड्नुपर्ने स्थिति आउन सक्छ ।  त्यस्तै युनिभर्सिटी अफ साउथ फ्लोरिडाका एक ग्राजुएट विद्यार्थी मोहम्मद इहास रसुलका अनुसार यो खबरले पहिले नै धेरै कुरामा अनिश्चितता भोगिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अर्को ठूलो समस्या थपिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here