नेवार समुदाय र नेपालको कम्युनिष्ट आन्दोलन

315
– रिदेन महर्जन 

नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास केलाउने हो भने वि.सं. २००६ साल वैसाख १० गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य र एक जना महिला नेतृ मोतीदेवी श्रेष्ठसमेत ६ जनाको प्रयासमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको इतिहास हामी सबैलाई जानकारी छ ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा युरोपेली राष्ट्र, रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह र  नेपालको राणाशासन विरुद्धको जनसङ्घर्षबाट प्रभावित बनेको विश्लेषण गरिदै आएको छ । तर यहाँ विर्सनै नहुने कुरा के हो भने, नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु छ जना नै नेवार समुदायका व्यक्तित्वहरु हुनु हुन्छ ।  संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेवार समुदायलाई मात्र समेटेर नेपाल कम्युनिष्ट पार्टी गठन गर्ने जातिय सोच अवश्य पनि बनाउनु भएको थिएन भन्ने सकिन्छ । कम्युनिष्ट पार्टी भन्ने वित्तिकै माक्र्सवादी दर्शनको राजनीति हो भन्ने कुरा स्पष्ट हुन्छ । माक्र्सवादले जातिय संकुचनमा बसेर राजनीति गर्ने शिक्षा दिदैन । माक्र्सवाद वर्गीय चिन्तन हो  भन्ने कुरा माक्र्सवादको ‘कखरा’ पढेका सबैलाई जानकारी भएको विषय हो । तर वर्तमान नेपालका कम्युनिष्टहरुको  राजनीति जातिय संकुचनमा फसिरहेको देख्न सकिन्छ ।

६ जना नेवार समुदायका युवाहरुले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी हालका दिनमा बाहुन र क्षेत्रीहरुको नेतृत्वमा पुगेको पाइन्छ । पुष्पलाल श्रेष्ठ लगायत ६ जना नेवारहरुले निर्माण गरेको पार्टी आज टुक्रा—टुक्रामा विभाजित भएको छ । एउटा नेपाल मजदुर किसान बाहेक आजका अन्य कुनै पनि कम्युनिष्ट पार्टीहरुमा नेवार समुदायका व्यक्तिहरुको नेतृत्व रहेको पाइदैन । यो भन्दा नेवार समुदायप्रतिको अन्याय अरु के हुन सक्छ ?

यो प्रसंगलाई यहीँनेर विटमार्न चाहन्छु । अर्को प्रसंगमा प्रवेश गरौं विभिन्न  कम्युनिष्ट पार्टीमा  आवद्ध नेताहरुले भूमिगतकालमा काठमाडौं, ललितपुर र भक्तपुरका नेवारहरुका घरहरुलाई आश्रयस्थल बनाएर राजनीति गरेका  हुन् भन्ने कुरा पनि हामी सबैलाई जानकारी भएकै विषय हो । नेवारहरुका घरमा आश्रय लिदा कुनै पनि जातका नेता र कार्यकर्ताहरुलाई नेवार समुदायका जनताले सम्मान दिएर राखे । यसको कारण स्पष्ट छ — नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सबै नेवार समुदायका थिए । नेवार समुदायले निर्माण गरेको पार्टीलाई समर्थन गरेर आउने सबै जातजातिका नागरिकहरुलाई सम्मान गर्दै आफ्नै घरमा आश्रय दिने काठमाडौं उपत्यकाका नेवार समुदायको भावना कति उदार रहेछ भन्ने कुरा तथ्यहरुबाटै बुझ्न सकिन्छ । नेवारहरुमा जातिय भावना छैन भन्ने कुरा नेवारहरुकै घरमा आश्रय लिएर नेवारहरुकै छोरी बहिनीलाई बिहे गरेर राजनीतिक जीवनलाई सुरक्षित बनाउने बाहुनहरुको सम्झना गर्नै पर्ने हुन्छ ।

पुर्वप्रधानमन्त्रीहरु मनमोहन अधिकारी, झलनाथ खनाल, बाबुराम भट्टराई र वर्तमान प्रधानमन्त्री केपी ओली काठमाडौं उपत्यकाका नेवार समुदायका ज्वार्इँहरु हुन् । यी सबैले नेवारका छोरीहरु विवाह गरेका थिए । प्रधानमन्त्री नभएपनि राजनीतिक केन्द्रमा पकड बनाएका अमृत बोहोरा, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, अशोक राई, शंकर पोखरेल, लीलामणि पोखरेल, गोकर्ण विष्टलगायतका नेताको पनि ससुराली नेवार समुदाय नै हो । भुमिगत राजनीतिक जीबन सहज बनाउनका  लागि अधिकांश  नेताहरुले नेवार समुदायलाई ससुराली बनाउने आधार पनि संस्थापक नेताहरु नेवार समुदायकै भएकाले हो भन्न सकिन्छ ।

रणनैतिक र राजनीतिक उद्देश्यले प्रेम र विवाह हुनु स्वाभाविक हो । नेवार समुदाय ससुराली बन्यो । कतिको भने सरसंगत र भावनात्मक पक्ष केन्द्रीत भएरै प्रेम र विवाह भएको देखिन्छ त कतिको वर्गीय प्रेम पनि झल्किन्छ ।

हाल देशमा  नेकपा सरकारको दुई तिहाई बहुमतको सरकार रहेता पनि सरकारद्धारा उपत्यकामा नेवार समुदायको हितका खातिर कुनै विशेष कार्यक्रम हुन सकेको छैन । वरु नेवारहरुको आस्था माथि नै प्रहार गर्ने गरी गुठी विधेयक ल्याएर नेवार समुदायलाई उत्तेजित बनाउने काम भयो । त्यसैगरी नेवार समुदायको आस्थाका केन्द्र अर्थात काठमाडौं उपत्यकालाई चोभारको पहाड  खोलेर पानी सुकाउने काम गरी बस्ती बसाउन योग्य बनाएका  मञ्जुश्रीको नामबाट निर्माणाधीन पार्कलाई नै अशोभनीय बनाउने गरी शुख्खा बन्दरगाह बनाउने काम यिनै नेवार समुदायका ज्वाइँ केपी ओलीले प्रधानमन्त्रीको हैसियतको दम्भमा गरिरहेका छन् ।  यो पनि नेवार समुदायमाथिको प्रहार हो । नेवार युवाहरु ६ जनाले गठन गरेको कम्युनिष्ट पार्टीले देशव्यापीरुपमा संगठन विस्तार गर्न सफलता हासिल गरेपनि कम्युनिष्ट नेताहरुमा नेवार समुदायप्रति नै सकारात्मक सोचको विकास हुन नसकेको पाउँदा नेपालको कम्युनिष्ट आन्दोलनमा नेवार समुयदायको योगदानको मूल्यांकन हुन नसके जस्तो लाग्दछ । – जनधारणा साप्ताहिक [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here