सरकारले दियो अनलाइन कक्षालाई मान्यता विद्यालय सञ्चालनमा आउने

238

काठमाडौं – करिब ६ महिनायता ठप्प्प रहेको विद्यालय शिक्षा पुनः सुचारु गर्नका लागि सरकारले वैकल्पिक शिक्षालाई मान्यता दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रका लागि लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बिहीवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले चालू शैक्षिकसत्रमा वैकल्पिक कक्षालाई मान्यता दिने निर्णय गरेको छ । सो बैठकले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सहजीकरण निर्देशिका–२०७७ को विषयमा छलफल गरेको थियो ।

निर्देशिकामा कुनै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका रेडियो, एफएम रेडियो र मोबाइल रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहमा वर्गीकरण गरी सोहीअनुसार पठनपाठन गर्ने उल्लेख छ ।

कोभिड-१९ का कारण लामो समयदेखि शिक्षण क्षेत्रमा समेत असर परेपछि चालु शैक्षिकसत्रमा दूर तथा खुला शिक्षा र वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट पढाउने तयारी भएको हो ।

निर्देशिका पारित हुनुअघि नै प्याब्सन र एनप्याब्सनअन्तर्गत सबै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका थिए । असारमा निर्देशिका आएपछि सबै विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरेका थिए ।

मन्त्रालयले वैकल्पिक शिक्षालाई मान्यता दिएपछि अब सबै सामुदायिक विद्यालयले अनलाइन, एफएम र रेडियो नेपाल वा स्थानीय टेलिभिजनबाट कक्षा शुरु गर्नुपर्नेछ । भौतिक उपस्थिति नभए पनि यो विधिलाई मान्यता दिने निर्णय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here