कोरोनाको उपचारमा कहाँ चुक्यो सरकार ? स्थिति भयावह हुने खतरा

98
 –राज्यलक्ष्मी शाक्य

कोरोना संक्रमितको संख्यामा दिन प्रतिदिन तीव्र वृद्धि भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।  पछिल्लो समय कोरोना संक्रमणको दृष्टिले काठमाडौं उपत्यका ‘हटस्पट’ बनिरहेको छ । सरकारले संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको सूचना सार्वजनिक गरेको छ ।

तर कस्ता अस्पतालमा कोरोना संक्रमितलाई राख्ने र कस्ता अस्पतालमा अन्य रोगका बिरामीको उपचार गर्ने भन्ने स्पष्ट मापदण्ड सरकारसँग छैन । आवश्यक परेमा सबैजसो अस्पतालमा कोरोना संक्रमितलाई राख्ने गरी सरकारले तयारी गरेको छ । यो अवस्थाप्रति अस्पताल संचालकहरु सहमत देखिएका छैनन् ।

सरकारले  जुनसुकै अस्पताललाई कोरोना संक्रमितको मात्र उपचारमा लगाउन सक्नेगरी तयारी गरेको छ । हालै मन्त्रिपरिषद बैठकले निजी, सहकारी, सरकारी तथा सामुदायिक गरी जुनसुकै  अस्पताललाई पनि कोरोना अस्पताल  बनाउने निर्णय गरे पछि स्थिति भयावह बन्ने खतरा झनै बढेको छ ।

सरकारको यस्तो निर्णयप्रति अस्पताल संचालकहरु मात्र नभएर विज्ञहरु पनि चिन्तित देखिएका छन् ।  कोरोनाका बिरामीलाई सबै अस्पतालहरुमा राख्ने व्यवस्था गर्नुभन्दा पनि ठूला क्षमताका केही अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने र केही अस्पताललाई ननकोभिड अस्पतालका रुपमा नियमित स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित गर्नु उपयुक्त हुने सुझाव गरेका छन् ।

  सरकारले जुनसुकै अस्पताललाई पनि आवश्यकता अनुसार कोभिड अस्पतालका रुपमा प्रयोग गर्न सक्ने निर्णयले अन्यौल खडा गरेको छ । यसले गर्दा सरकारले आफ्नो ध्यान सम्पूर्ण रुपमा कोरोनामा केन्द्रीत गरेको र दीर्घकालीन रुपमा जनस्वास्थ्यको हिसाबले कोरोनाभन्दा पनि जटील र खतरनाक अन्य रोगका उपचारहरुलाई चाहिँ गौण रुपमा लिएको देखिन्छ । यसले गर्दा कोरोना पीडित नभएका तर अन्य दीर्घरोगले सताईएका बिरामीहरुको अवस्थाप्रति सरकार सम्बेदनशील बन्न नचाहेको स्पस्ट हुन्छ ।

खासगरी मिर्गौला, मुटु रोग, क्यान्सर, हाडजोर्नी, नसा लगायत दीर्घरोगका बिरामीको उपचारका लागि कोरोना महामारीको समयमा समस्या हुँदै आएको छ । सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमणबाहेकका बिरामीहरुको स्वास्थ्योपचार प्राथमिकतामा नपर्ने पो हो कि भन्ने आशंका बढाएको छ । त्यसैपनि अहिले कोरानाको नाममा अन्य घातक दीर्घरोगीहरुको अवस्था र उपचार सेवा पनि पहलिे सामान्य अवस्थाका भन्दा धेरै नै अब्यवस्थित  बन्दै गइरहेको छ । तर पनि सरकारका जिम्मेवार निकनयमा बसेका ब्यक्तिहरुमा जिम्मेवारीबोध भैरहेको पाईएको छैन ।

 सबै अस्पतालहरुमा कोरोना संक्रमितका लागि आइसोलेसन बेडको व्यवस्था गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु समूहगत रुपमै संक्रमित हुन थालेका छन् । यसले गर्दा आगामी दिनमा स्वास्थ्य सेवा नै धर्मराउने अवस्था आउने त होइन भन्ने चिन्ता चिकित्साकर्मीहरुमा पाउन थालिएको छ ।

 चिकित्साकर्मीहरुले ‘कोभिड र ननकोभिड अस्पताल छुट्याउन जरुरी हुने सुझाव दिईरहँदा पनि सरकारी निकायले सुनिरहेको छैन ।  यथार्थमा  कोरोना  संक्रमितको तुलनामा दीर्घरोगीहरुको संख्या बढी नै छ, अन्य रोगीलाई पनि बचाउन उत्तिकै जरुरी छ । त्यसैले पनि कोरोनाका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्न हँदैन । सरकारले अस्पताल संचालकहरु र चिकित्साकर्मीहरुको सुझावमा काम गरोस् , जनताको स्वास्थ्यमा खेलवाड नगरोस् ।

 चीनमा जस्तो रातारात कोभिड विशेष अस्पताल निर्माण गर्न  सम्भव नहुने भएकाले त्यस्तो अवस्थामा अस्पतालकै छुट्टै भवनलाई कोभिड संक्रमितका लागि आइसोलेसन कक्ष बनाउन सकिने सुझाव पनि आएका छन् । तर बिकल्पहरु केही पनि हेर्दै नहेरि जथाभावी गर्नु सर्वथा ठीक होईन , सम्बन्धितहरुको ध्यान जावस् । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here