सिड्नी – प्रतिबन्धित खानेकुरा ल्याएकोमा गत अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलियन सरकारले १४ जनाको भिसा रद्द गरिसकेको छ।
अस्ट्रेलियाका कृषि, सुख्खा तथा आपतकालीन मन्त्री डेभिड लिटलप्राउडले एक विज्ञप्ति जारी गर्दै १ अक्टोबर २०१९ देखि ‘नयाँ बायोसेक्युरिटी कानुन’ लागू भएपछि प्रतिबन्धित खानेकुरा ल्याएकोमा ती भिसाहरू रद्द गरिएको जनाएका छन्।
उक्त कानुन अन्तर्गत दुईजना युक्रेनी नागरिकलाई गत मंगलबार, १ सेप्टेम्बरमा भिसा रद्द गरिएको पनि मन्त्री लिटलप्राउडले जनाएका छन् जुन अन्तर्राष्ट्रिय यात्रीहरूका लागि सीमा बन्द गरिएपछि पहिलो घटना समेत हो।
ती दुईमध्ये एकजना यात्रीले १९७५ ग्राम सुंगुरको काँचो मासु, ६६० ग्राम सलामी, १०० ग्राम छाला, ३४० ग्राम चिकेन, १२२० ग्राम माछा ल्याएका थिए भने अर्का यात्रुले २२३५ ग्राम सुंगुरको मासु र बोसो ल्याएका थिए।
“ती समातिएका प्रत्येक खानेकुरा अस्ट्रेलियाको कृषि व्यवसाय तथा पर्यावरणलाई जोखिमपूर्ण मानिएका छन् । अस्ट्रेलियाले कसैले घोषणा नगरिकन ल्याएका ती सामान भित्राएर विश्वका सामु रहेको आफ्नो स्वच्छ, हरियाली छविलाई जोखिममा पार्न सक्दैन । हामीसँग अफ्रिकन स्वाइनफ्लू जस्ता खतरनाक रोगहरू हाम्रा ढोकामैँ छन् र तिनका लागि अस्ट्रेलिया छिर्ने एउटा बाटो अन्तर्राष्ट्रिय यात्रीले ल्याएका यस्ता जोखिमपूर्ण खानेकुराहरू हुन सक्छन्”, विज्ञप्तिमा मन्त्री लिटलप्राउडले उल्लेख गरेका छन् ।
ती यात्रुहरूले अस्ट्रेलिया आउँदा भर्नुपर्ने प्यासेन्जर कार्डमा गलत सूचना दिएकाले अस्ट्रेलियाको ‘बायोसेक्युरिटी एक्ट’को उपदफा ५३३ ९१० लाई उल्लंघन गरेका थिए ।
ती दुवै यात्रुहरू सिंगापुरबाट गत शुक्रबार, २८ अगष्टमा पर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए जहाँ उनीहरू १४ दिने क्वारेन्टिनमा बसेर फ्रिम्यान्टलबाट समुद्री जहाजको यात्रा गर्ने तय थियो । उनीहरूको सामानमा ती खानेकुरा भेटिएपछि बायोसेक्युरिटी अफिसले अस्ट्रेलियन बोर्डर फोर्सलाई खबर गरेका थिए जसले उनीहरूको भिसा रद्द गरिदिएका थिए ।
खानेकुरा अस्ट्रेलिया ल्याउँदा के गर्नुपर्छ ?
अस्ट्रेलियामा केके खानेकुरा ल्याउन पाइन्छ भनेर अस्ट्रेलियन बोर्डर फोर्सको वेबसाइट गएर सबै जानकारी लिन सकिन्छ । प्रतिबन्धित सामानहरू केही पनि ल्याउनु हुँदैन ।
खानेकुरा ल्याउँदा प्लेनमा दिइने प्यासेन्जर कार्डमा के के खानेकुरा छ भनेर ‘डिक्लियर’ अर्थात् घोषणा गर्नुपर्दछ ।


















