ललितपुर – गत बिहीबार विवाद भएपछि रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम अहिले शुरू भइरहेकाे छ । ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गरेको छ ।
ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र ज्यापु समाजका पदाधिकारीबीच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको हो ।
कार्यक्रम स्थलको चारैतिर प्रहरीको घेरा हुने सुरक्षा तयारीको खाकामा उल्लेख छ । बिहीबार प्रशासनको अनुमितबिना ठूलो संख्यामा मानिसको भिड जम्मा भएपछि विवाद भएको थियो । प्रशासनले कार्यक्रम बिथोलेको थियो । त्यसक्रममा एकजना ट्राफिक प्रहरी जवान पनि निर्घात कुटिएका थिए ।
प्रशासनले शुक्रबार मात्रै रथ निकालिएको क्षेत्र वरपर पाँच जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।
















