एजेन्सी – राजा महा भजिरालङ्कोर्नको राजतन्त्रलाई चुनौति दिँदै लगातार दोस्रो दिन थाइल्याण्डको राजधानी बैंकक८मा हजारौँको संख्यामा प्रदर्शनकारीले मार्च गरेका छन् । राजाको अधिकारमा कटौतीसहित राजतन्त्रको पुनर्संरचना गर्नुपर्ने प्रदर्शनकारीहरुको माग रहेको छ ।
दुई महिनादेखि जारी प्रदर्शनमा पछिल्लो समय राजतन्त्र र सैन्य वर्चश्व रहेको संस्थापनविरुद्ध खुलेर आवाज उठ्न थालेको छ । राजतन्त्रको आलोचना गर्न थाइल्याण्डमा वर्जित रहेको छ भने कानुनीरुपमा दण्डनीय छ । प्रदर्शनबारे राजदरवारले कुनै प्रतिक्रिया दिएको छैन । राजा भजिरालङ्कोर्न हाल थाइल्याण्डमा छैनन् ।
प्रदर्शनकारीहरुलाई सयौँको संख्यामा रहेका प्रहरीले रोकेका थिए । प्रदर्शनकारीहरुका अनुसार रोयल गार्ड प्रहरीले आफ्नो माग प्रहरी हेडक्वार्टरमा दिन स्वीकार गरेको बताउँदै यसलाई आफ्नो जीतको संज्ञा दिएका छन् । प्रहरीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
‘यो दुई दिनमा हाम्रो सबैभन्दा ठूलो जित भनेको हामीजस्ता सामान्य मानिसले राजपरिवार पत्र पठाउन सक्ने भएका छौँ,’ पारित ‘पेन्गुइन’ चिवाराकले प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै भने ।
प्रदर्शनकारीहरुले आगामी बिहीबार पनि प्रदर्शन गर्ने र १९७३ को विद्यार्थी विद्रोहको वर्षगाँठको अवसरमा अक्टोबर १४ मा बन्दको आयोजना गर्ने बताएका छन् ।


















