गृहमन्त्रीद्वारा बलत्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न निर्देशन

75

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले बलत्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायतीबस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिईसकेको जनाएका  छन् ।

बलत्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलत्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएको टिप्पणी गरे ।

उनले यस्तो मिलापत्र गराउनेहरुलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यकपरे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताए । उनले बलत्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको जनाए । सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलत्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरीसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारवाही अघि बढाईएको जनाए ।

ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलत्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही, पिडीतलाई उपचार, सुरक्षा र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here