लामो समयपश्चात ग्लोबलले पायो पार्टनर

74
काठमाडौं – लामो प्रयासपश्चात अन्तत ग्लोबल आईएमई लघुवित्तले मर्जरमा जान पार्टनर पाएको छ । मङ्गलबार बसेको ग्लोवलको सञ्चालक समितिको बैठकले स्पर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्ने निर्णय गरेको हो ।  ग्लोबलले प्राप्ति (एक्वायर ) गर्ने सम्बन्धि हिजो मात्रै दुबै पक्षबिच समझादारी भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरस्थित स्पर्श लघुवित्त वित्तीय संस्था २०७४ असार २९ गतेदेखि सञ्चालनमा आएको थियो  भने ग्लोबल आईएमई २०७० जेठ ५ गते देखि सञ्चालनमा आएको हो । एक्वायरपछि पुँजीकोष बृद्धि भइ व्यवसाय विस्तारमा सहज हुने अपेक्ष दुबै पक्षको छ ।

ग्लोबल आईएमई लघुवित्तले एक्वायर गर्ने भएपछि बुधबार असोज २१ गतेदेखि स्पर्श लघुवित्तको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ । अब स्पर्शका लगानीकर्ताले एकीकृत कारोबारपछि ग्लोबलको नामबाट सेयर खरिदबिक्री गर्न पाउनेछन । जनकपुर लघुवित्तसँग, ग्रामिण स्वयमसेवकसँग, सहकार्य, सजिलो लघुवित्तसँग मर्जरको कुरा चलेको ग्लोबल ती संस्थासँग मर्जरमा जान सकेन । उसले मर्जरका लागि उपयूक्त पार्टनर खोजिरहेको जनाएको थियो । अन्ततः उसले स्पर्श लघुवित्तलाई पाएको छ ।

लघुवित्तमा अहिले मर्जरको लहर चलेको छ । चुक्तापुँजी बृद्धि गर्न मर्जरमा जान थालेका छन् । यता बैङ्कहरुलाई जस्तो लघुवित्तलाई पुँजी बृद्धिमा सहज छैन किनभने राष्ट्र बैङ्कले हकप्रद सेयर र एफपिओ निष्काशनमा बन्देश लगाएको छ । आइपिओ र बोनस सेयरबाट मात्र पुँजी बृद्धि गर्न सकिने अवस्था कतिपयको छैन । अर्कोतर्फ लघुवित्तहरुको क्यापिटल एडुकेसी (पुँजी पर्याप्तता) पनि केही टाइट हुँदै गएका कारण मर्जरमा लघुवित्तहरु हौसिएको ग्लोबल आईएमई लघुवित्तका सिइओ किरण कुँवरले बताए । बाह्रै महिना न्युनतम पुँजीकोष पुर्याउन नसक्ने लघुवित्तले लाभांश बाँड्न नपाउने राष्ट्र बैङ्कको प्रावधान छ ।  यसले लघुवित्तको विजनेसमा समस्या परेको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्यांक अनुसार ८४ वटा लघुवित्त संस्थाहरु अहिले अस्तित्वमा छन् । तीमध्ये ४३ वटा राष्ट्रियस्तर र १६ वटाले प्रदेशस्तरको लघुवित्तको रुपमा इजाजत पाएका छन् । २५ जिल्ला, २३ जिल्ला र १९ जिल्ला कार्यक्षेत्र भएका वित्तीय संस्थाको संख्या १/१ वटा छ । त्यस्तै, १० देखि १५ जिल्ला कार्यक्षेत्र भएका ५ वटा, १० जिल्ला कार्यक्षेत्र भएका ३ वटा, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका १३ वटा र एकदेखि ३ जिल्ला कार्यक्षेत्र भएका एउटा लघुवित्त छन ।

यस्ताे छ  ग्लोबल आईएमई र स्पर्शको वित्तीय अवस्था  

गत आर्थिक वर्षको (२०७६/७७) चौथो त्रैमासमा प्रकाशित प्रतिवेदनलाई आधार मान्दा ग्लोबल आईएमर्ई लघुवित्तले ७ करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १४.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले ६ करोड ८१ लख ८७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ८३.५० प्रतिशतले बढेर २६ करोड २६ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १४ करोड ३१ लख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन नाफा २०.५२ प्रतिशतले बढेर १२ करोड ३७  लाख ११ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसले १० करोड २६ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चौथो त्रैमाससम्म आइपुग्दा चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ छ । जगेडा कोषमा १६ करोड २० लाख ७४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर ग्लोबल आईएमई चुक्तापुँजीको हिसाबले बलियो लघुवित्त हो । यसको प्रधान कार्यालय लमजुङको बेसी शहर हो । हिजोको बजारभाउलाई आधार मान्दा ग्लोबल आईएमईको सेयर एक कित्ताको  १ हजार २ सय १५ रुपैयाँ छ ।

यता स्पर्श लघुवित्तको गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणलाई आधार मान्ने हो भने स्पर्सले २ करोड ८८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ८४.५७ प्रतिशतले  बढी हो । अघिल्लो वर्ष यस संस्थाले १ करोड ५६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुदा स्पर्शको खुद ब्याज आम्दानी ७०.३ सय ७५ ले बढेर ७ करोड ५२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा पनि ७०.२१ प्रतिशतले  ले बढेर ३ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा स्पर्सको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी असार मसान्तसम्म आइपुग्दा ३०.७४ रुपैयाँ (वार्षिक)पुगेको छ । प्रतिसेयर नेटवर्थ १३९.२३ रुपैयाँ रहेको छ । यसको एक कित्ता सेयरको ९ सय ७२ रुपैयाँ छ । यद्यपि आजैबाट यसको सेयर कारोबार रोक्का भइसकेको छ । अब ग्लोबलसँग एक्वायर गरेर एकीकृत कारोबारपछि मात्र सेयर कारोबार खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here