काठमाडौं – चाडपर्व नजिकिएसँगै सेयर बजार सुस्ताउन थालेको छ । बजारमा सक्रिय लगानीकर्ता घट्दै गएका छन् । जसले गर्दा नेप्सेमा कारोबार संख्यासँगै कारोबार रकम पनि घट्दै गएको छ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ । मंगलबार सेयर बजार मापक परिसूचक नेप्से ९.४२ अंकले घटेर १५६८.५९ अंकमा झरेको छ । प्रि-ओपनिङ सेसनमा ५ अंकभन्दा बढीले वृद्धि भएर १५८३.३९ अंकमा खुलेको नेप्से बजार केही समय करिब स्थिरजस्तै देखिएको थियो । ११ बजेर २४ मिनेटमा मंगलबारको उच्च बिन्दु १५८४.८४ अंक सम्म पुगेपनि त्यसपछि भने नेप्से ओरालो लाग्न पुग्यो भने करिब १० अंकले घटेर बजार बन्द भयो ।
हाइड्रोपावर, वित्त कम्पनीसँगै बजारलाई नेतत्व गर्ने बैंक समूहको सूचक घट्दा नेप्से पनि घटेको हो । मंगलबार हाइड्रोपावर समूहको सूचक सवार्धिक २.०४, वित्त कम्पनी समूहको सूचक १.९२ प्रतशत र बैंकिङ समूहको सूचक ०.६१ प्रतिशतले घटेको छ । मंगलबार नेप्सेमा व्यापार उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको सूचक रातो भएको छ ।
चाडपर्व नजिकिँदै गर्दा लगानीकर्ता विस्तरै निष्क्रिय बन्दै गएका छन् । जसले गर्दा नेप्सेमा पनि करेक्सन देखिएको छ भने कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार नेप्सेमा कारोबार रकम २ अर्ब पनि पुग्न सकेन । १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ९६ लाख ३९ हजारको सेयर कारोबार भएको छ ।
मंगलबारको कारोबार संख्याले पनि लगानीकर्ता निष्क्रिय बन्दै गएको देखाउँछ । पछिल्लो समय दैनिक ४० देखि ५० हजारवटासम्म कारोबार हुने गरेकोमा मंगलबार २८ हजार ६४० वटा मात्रै कारोबार भएको छ । कारोबार रकम क्रमश: घट्दै जाँदा बजारमा विकास बैंक र हाइड्रोपावर नै लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । धेरै कारोबार हुनेमा २ हाइड्रोपावर, २ विकास बैंक र नेपाल पुनर्बिमा कम्पनी रहेका छन् । अरुण काबेली हाइड्रोपावरको सवार्धिक ११ करोड २६ लाख २१ हजारको कारोबार भएको छ । धेरै कारोबार हुनेमा छन् भने अरुण काबेलीसँगै क्रमशः ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैक, नेपाल पुनर्बिमा कम्पनी र सानिमा माइ हाइड्रोपावर रहेका छन् ।
मंगलबार नेप्सेमा सवार्धिक कमाउनेमा भने ज्योति विकास बैंकका लगानीकर्ताले ४.८३ प्रतिशतले कमाएका छन् । त्यस्तै धेरै कमाउनेमा ३ वटा सामूहिक लगानी कोषका साथै युनिलिभर नेपालको लगानीकर्ता पनि रहेका छन् । यता गुमाउनेमा भने हाइड्रो पावरका लगानीकर्ता अगाडि देखिन्छन् । पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले सवार्धिक ८.७२ प्रतिशतले गुमाउँदा धेरै गुमाउने शीर्ष ५ मा हाइड्रोपावर नै मात्र रहेका छन् ।


















