समाजमा बिद्यमान अन्याय र कूरितीहरुको अन्त्यका लागि समाजबादी शासन ब्यवस्था नै आवश्यक हुन्छ

150

–प्रीति रमण

समाजशास्त्रको परिभाषा अनुसार एक भन्दा धेरै मानिसहरूको समुदाय एवं मानवीय सम्बन्धहरूको जालो नै समाज हो । आफ्नो मात्र नभएर पारस्परिक लाभको निमित्त जुन मानव समुदायले राज्यब्यवस्थाकै परिकल्पना गरेको हुन्छ  त्यो नै समाजबाद हो । समाजको अर्थ मानवद्धारा स्थापित यस्तो सम्बन्धसँग हुन्छ‚ जसलाई स्थापित गर्नका लागि उ विवश हुनुपर्छ । परिवर्तनको संवाहक मानिससँगै समाज निरन्तर परिवर्तनशील छ‚ यसको गति रोक्न असम्भव छ । समाज परिवर्तनसँगै मानिसको विचार, आदर्श, व्यवहार, मनोभावना मात्र होइन, उसले आफ्नो कला, दैनिकी‚ रहनसहन‚ लवाइखवाई‚ चालचलन‚ धर्मसंस्कृतिमा पनि परिवर्तन अङ्गीकार गर्छ, जसले उसलाई सामाजिक बनाउँछ ।

परिवर्तनले समाजलाई उन्नत‚ प्रगतिशील‚ अग्रगामी एवं विकासको दिशामा अग्रसर गराउँछ । पुरातनवादी समाज रूपान्तरित हुन अग्रगामी छलाङ आवश्यक हुन्छ । सामाजिक अवस्थालाई मध्यनजर गर्दा अभियान, आन्दोलन, सङ्घर्ष‚ विद्रोह‚ क्रान्ति, जागरण‚ युद्ध जस्ता कुराले समाजलाई परिवर्तन गर्न सक्छ । जसले समाजलाई सकारात्मक परिणाम दिन्छ ।

 सामाजिक रूपान्तरण सामाजिक विकासका लागि अपरिहार्य हुन्छ ।  रूपान्तरणको अर्थ हो सामाजिक कुरीति‚ कुसंस्कार‚ विकृति‚ विसङ्गति‚ विभेद‚ असमानता र शोषणलाई अन्त्य गरी उन्नत‚ वैज्ञानिक, सुसंस्कृत र न्यायपूर्ण सम्बन्धको विकास गर्नु ।

त्यसैगरी संस्कृति भनेको परम्परागत संस्कार , कला‚ विज्ञान‚ विश्वास‚ नैतिकता‚ कानुन एवं समाज सञ्चालनको सामाजिक मान्यता हो । संस्कृतिलाई बुझ्ने सन्दर्भमा विभिन्न मतहरू पाइन्छन् । सामाजिक प्राणी भएको नाताले मानिसले आफूमा जुन कुरा राख्छ वा जस्तो व्यवहार  सिक्छ त्यो सबै संस्कृति हो । चाड, पर्व, धार्मिक क्रियाकलाप, रीतिरिवाज, भेसभुसा, प्रचलन, मान्यता र विश्वासहरूको समष्टिगत रूप नै संस्कृति हो। संस्कृति जीवन व्यतीत गर्ने एक सम्पूर्ण विधि  हो ।  संस्कृति सामाजिक सामूहिकतामा आधारित हुने भएकोले समाजका सदस्यहरूले परस्परमा साझा अर्थबोध गरेका हुन्छन् । त्यसैले संस्कृतिका बिरुद्द हुने कुनै पनि हस्तक्षेपलाई मानव समाजले सहन सक्दैन ।

संस्कृतिले व्यक्तिहरू निर्माण गर्छ, साथै व्यक्तिहरुलेनै सामूहिक श्रम एवं पहलद्वारा त्यही संस्कृतिको पुनः निर्माण गर्छन् । संस्कृतिभित्र समाजको सामुहिक स्वार्थ जाडिएको हुन्छ । त्यसैले भन्न सकिन्छ कि संस्कृतिसँग समाजबादको सम्बन्ध पनि जोडिएको हुन्छ । मानिसको समग्र जीवनशैली‚ समुदायबाट वैयक्तिक रूपमा आर्जन गर्ने सामाजिक तथा सांस्कृतिक विरासत, हैसियत‚ सोचाइ‚ चिन्तन‚ सिकाइ‚ अनुभूतिहरू र विश्वास गर्ने पद्धति, सामूहिकतामा टिकेको हुन्छ ।

संस्कृतिमा आउने रुपान्तरणलाई नै सामाजिक रूपान्तरण भन्न सकिन्छ  । समाजबादमा राजनीतिक चेतनाको परिवर्तनले  नागरिकहरु संगठित रुपमा  मानवीयता विरोधी कार्यको खुलेर विरोध गर्न सक्षम भएका हुन्छन् । अर्थात आफ्नो अधिकार माग्न‚ अन्यायको विरुद्धमा आवाज उठाउन जनता संगठित बन्ने बलियो जग समाजबादमा निर्माण भएक हुन्छ । ठुलाठुला राजनीतिक परिवर्तन‚ आर्थिक ।, सामाजिक रूपान्तरण‚ सांस्कृतिक रूपान्तरणमा जनताको सामुहिम आवाजले गुणात्मक फड्को मारेको पाइन्छ । पुरानो सामाजिक संरचनालाई भत्काइ नयाँ निर्माण गर्ने‚ शासकीय प्रणाली बदल्ने एवं समाजको व्यापक र आमूल परिवर्तन गर्ने मुख्य आधार र माध्यम नै जनताको आन्दोलन हो ।

गरिबी‚ भोकमरी‚  कठिन जीवनयापन‚ अन्धविश्वास‚ विभेद जस्ता अवस्थाहरूबाट मुक्त हुन मानिसको चेतना आवश्यक हुन्छ, त्यही चेतानाले नै मानिसलाई संगठित बनाउँछ र रुपान्तरणका लागि आन्दोलनको आवश्यकताबोध गराउँदछ । प्रविधिको विकाशसँगै विश्वव्यापीकरणले सामाजिक सम्बन्ध‚ सेवा‚ व्यवहार र दैनिक क्रियाकलापलाई नै अन्तराष्ट्रियकरण गरिरहेको छ । सामाजिक  प्रणालीहरू षेणभरमै परिवर्तन भएका छन् । यसरी मानिसहरू अन्तर्राष्ट्रिय उपभोक्ता बनिरहेका छन् । यो अवस्थाले कुनै एक देशका शासकले आफ्नो स्वार्थका लागि शासन ब्यवस्था कायम राखेर लामो समयसम्म टिक्न सक्ने अवस्था छैन ।

 हाम्रो देश नेपालमा जाति वा समुदाय विशेषका आ–आफ्नै विशिष्टतायुक्त  संस्कृति तथा जीवनशैलीहरू छन् ।   खस, नेवार , मगर ‚ गुरुङ‚ चेपाङ्ग‚ थारु‚ शेर्पा‚ धिमाल‚ राजवंशी‚ सन्थाल‚ राई‚ लिम्बु  आदि भिन्ना भिन्नै संस्कृति र भेषभुषा रहेका मानव समुदायको बशोबास रहेको देश नै नेपाल हो । यस्तो विबिध बिशेषतायुक्त संस्कृति भएको देश बिश्वमा अर्को छैन । समाजमा रहेको जातीय छुवाछुत‚ जमिन्दारी प्रथा‚ हलिया प्रथा‚ दास प्रथा‚ छाउपडी प्रथा‚ कमाराकमारी प्रथा लगायतका कूप्रथाहरुको उन्मुलन कानुन बमोमि गरिएका भए पनि ब्यवहारमा यथावतै छ । यस्ता बिभेदकारी कूसंस्कारहरुको अन्त्य हुन समाजबादी ब्यवस्था नै अपरिहार्य हुन्छ ।–जनधारणाा साप्तािहकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here