अघिल्ला वर्षहरुमा दशैं शुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो । तर यसवर्ष कोभिड संक्रमणका कारण क्षेत्रहरु सुनसान छन् ।
सरकारले पूरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारी साधन चालकहरु जनाउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढन नमान्ने गरेको चालकहरु जनाउँछन् । बसमा यात्रा गर्ने यात्रुहरु पनि असुरक्षित महसुस भएको जनाएका छन् ।
सवारी साधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरैरै भएपनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरुको भनाई छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइराखेको यात्रुहरु जनाउँछन् ।
संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ, त्यहि नै दशैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दशैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन् ।