पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन गर्ने घाेषणा

96

काठमाडौं – तीन ठूला सञ्चारगृहहरुमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारी स्वरुप नेपाल पत्रकार महासंघले मंसिर ४ गते  विभिन्न संघ/संगठनहरुसंग राय सुझाव लिएको छ । महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनहरुले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका सञ्चालकको घर घेराउ, सञ्चारगृहमा तालाबन्दीदेखि श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनका लागि सरकारी निकायलाई समेत चर्को दवाब दिनुपर्ने सुझाव दिएकाे बैठकमा सहभागी पत्रकार महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजक जन्मदेव जैसीले जानकारी दिए ।

महासंघले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुनर्वहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन आन्दोलन गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई वार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नु परेको जानकारी दिंदै छठ पर्व लगत्तै तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन गरिने बताए ।

प्रेस संगठनका संयोजक महेश्वर दाहालले सञ्चारगृहका सञ्चालकहरुले एकदिनको घाटालाई हेरे पत्रकारको पारिश्रमिक रोक्न नहुने भन्दै श्रमिकले विगतको नाफा खोज्ने बेला आएको बताए।

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारको पेशागत सुरक्षाका सवालमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्दा पत्रकारहरु आन्दोलित बन्नुपरेको बताए । महासंघका सचिव तथा श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालले श्रमजीवी पत्रकारका माग पूरा नगर्ने ठूला सञ्चारगृहका सञ्चालकहरुको घर घेराउ गर्न संगठनहरुले दिएको सुझाव कार्यान्वयन गरिने बताए। महासंघका सचिव लक्ष्मी पुन र शितल महतोले महासंघको आगामी आन्दोलनका बारेमा धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here