कोरोना भाइरसको भ्याक्सिन बनाउने देशमै संक्रमण किन बढ्यो ?

57

–राज्य लक्ष्मी शाक्य

कोरोना भाईरसको भ्याक्सिन बनाएको चर्चा पाउन एक किसिमको प्रतिस्पर्धा नै चलेको थियो । बेलायतले पनि यस्तो चर्चा पाएको थियो । तर हालका दिनहरुमा बेलायत संक्रमणको भयावह स्थितिसँग लड्नु पर्ने अवस्था बीच गुज्रीरहेको छ । विश्वमै कोरोनाको भ्याक्सिन बनेको चर्चाले खुशियाली छाएको छ । तर पनि स्वयम बेलायतमा कडा लकडाउनको अवस्था आउनुले कोरोनाको भयावह खतरा नटरेको संकेत भएको छ ।
नेपालमा पनि कोरोना भाइरसको महामारी गत वर्षको तुलनामा कम हुने आशा गरिएको छ । सबै क्षेत्रमा भिड भाड हुन सुरु भएको पनि छ । तर भयावह स्थिति आयो भने हालको बेलायतको अवस्था नआउला भन्न सकिदैन । हामी  नेपालीहरु महामारीका कारण हुने खतराप्रति सचेत बन्न सकिरहेका छैनौ । जस्ले परिवारका सदस्य गुमाएका छन् उनीहरु  दुखी भइरहेका छन् ।  कोरोना भाइरसको महामारीले पीडित नेपाली जनतालाई आक्रान्त बनाइरहेको अवस्थामा छ ।  दिनानु दिन कोरोना संक्रमितको संख्याका साथै  ओली नेतृत्वको  सरकारको लाचारीपन बढ्दै गइरहेको नेपाली जनताले महशुस गरिरहेका छन् ।
 
सरकार अहिले कोरोना संक्रमितको संख्या गन्न र निको भएकाहरुको  संख्या गन्न मात्रै व्यस्त रहेको छ ।  तर दिनानु दिन कोरोना भाइरस संक्रमितको मृत्यु संख्या बृद्दि भैरहेको तर्फ सरकारको ध्यान पुगिरहेको छैन । सरकार नियन्त्रणमा समेत असफल भइरहेको छ । विभिन्न दलका नेताहरुका आरोपप्रति सरकारले चासो देखाएको नै छैन । आम नागरिकहरुले चनाखो बनी सामान्य लक्षण देखापर्ना साथ स्वास्थ्य जाँच गराउने गरिरहेका छन् र होम क्वारेन्टाइनमै बसेर उपचार गराईरहेका छन् । घर घरमा भैरहेको संक्रमणबारे सरकार जानकार नै नभएको अवस्था छ ।  सरकारले  केहि दिन अगाडि मात्रै होम आइसोलेशनमा मृत्यु भएका मृतकहरुको जिम्मेवारी लिन नसक्ने कुरा गरेको थियो । त्यसैले पनि जनताले सरकारप्रति आशा र भरोसा गर्नै छोडेका छन् ।
 
नेपालको सन्दर्भमा कोरोना संक्रमित मृत्यु हुनेहरुमा अहिलेसम्ममा बृद्धवृद्धा, अस्वस्थ्य बढिरहेका छन् । यस मध्ये पनि मधुमेह, मुटुका रोगी, उच्च रक्तचाप, श्वासप्रश्वास सम्बन्धि समस्या भएकाहरुलाई बढि सताइएको एक अनुसन्धानले पत्ता लगाएको छ । कोरोना भाइरसका लक्षण प्रायः रुघाखोकी र मौसमी ज्वरोसँग मिल्दोजुल्दो भएकाले अधिकांशले यसलाई सामान्य रुपमा लिन्छन् र नजरअन्दाज गर्ने गरेका छन् । प्रायः जसो यो रोग लाग्दा टाउको दुख्ने,  खोकी, सास फेर्न गाह्रो हुने, मांसपेशीमा दुखाई, ज्वरो,  शुरुमा ज्वरो त्यसपछि सुख्खा खोकी, एक हप्तापछि सास फेर्न कठिनाइ हुने रहेका छन् ।
 
विश्व स्वास्थ्य संगठनले जनाए अनुसार यी लक्षणहरु देखापर्नासाथ स्वास्थ्य चौकी वा अस्पतालमा जाँच गराइहाल्नु पर्दछ , तर नेपाल सरकारको लापर्वाहीका कारणबाट जनताले सरकारी अस्पतालहरुमा जचाउन समेन ईच्छा गरेको पाईदैन। हुनसक्छ यी सामान्य रुघाखोकी वा मौसमी ज्वरोका लक्षण हुन् तर, ७६ वटा भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको यस भयावह अवस्थामा भने सामान्य भन्दा सामान्य लक्षणसँग पनि सावधान रहनु उपयुक्त हुन्छ ।
 
अहिले नेपाली समाज सामान्य रुघाखोकी तथा ज्वरो आए पनि कोरोना भाइरसले सताएको हो की भन्ने अवस्थामा पुगेका छन् ।
 कोरोनाको संक्रमणबाट बच्नका लागि मिचि—मिचि साबुन पानीले हात धुने वा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने प्रचार निकै भयो । तर यस्को प्रभावकारिता पनि खासै देखिएन ।  खोक्दा वा हाँछ्यू गर्दा डिस्पोजेबल टिस्यु पेपरको प्रयोग नगर्ने बानी, टिस्यु पेपर नभएको अवस्थामा पाखुराले मुख छोप्ने तथा अझै पनि सामान्य हेलचेक्याइ तथा चेतनाको अभावकै कारण सार्वजनिक स्थलबाट फर्किएपछि हात नधोइ आँखा, नाक, मुखतिर छुने जस्ता बानी संक्रमणका कारण साबित भएका छन् । संक्रमितको सम्पर्कमा रहेकोले, अनिवार्य मास्कको प्रयोगमै हेल्चक्राइ तथा सभा समारोह तथा भेलाहरुमा उपस्थित हुने जस्ता कारणले कोरोना भाइरस अनियन्त्रित भैरहेको छ । तर सरकार भने अब बिद्यालयहरु संचालन गर्न र अभिभावकहरुलाई लुट्न अग्रसर हुने संकेत भैरहेको छ । यो खतरनाक पक्ष हो । सबैको ध्यानाकर्षण जरुरी छ ।   -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here