
काठमाडौं – २०७२ सालको भूकम्पमा नेपाल प्रहरी बसोबास गर्दै आएका १ सय ५ वटा प्रहरी कार्यालय ध्वस्त भएका थिए । तीमध्ये ९८ वटा प्रहरी कार्यालयको पुनर्निर्माण सकिएको छ । भूकम्पपछि टेन्ट र जस्तामुनि बसेर शान्तिसुरक्षा प्रदान गर्दै आइरहेको प्रहरीलाई भवन बनेपछि केही सहज भएको छ । प्रहरी प्रधान कार्यालयभित्रका दुईवटा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको एउटा भवन बनिसकेका छन् । त्यस्तै महानगरीय प्रहरी कार्यालयअन्तर्गतका पाँचवटा प्रहरी कार्यालय पनि निर्माण भइसकेका छन् ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले प्रहरीलाई अझै पनि भौतिक पूर्वाधारको कमी भइरहेको बताए । ‘हामी सधैं प्रहरीमाथि प्रश्न उठाइरहन्छौं तर प्रहरीले कस्तो संरचनामा बसेर शान्तिसुरक्षा दिएको छ भन्नेबारे सोच्दैनौं,’ उनले भने । उनले प्रदेश ५ का ९४ वटा प्रहरी कार्यालय भाडाको भवनबाट सञ्चालन भइरहेको बताए ।नागरिक दैनिकबाट


















