बंगलादेशको ढाका म्याराथनमा पुष्पा भण्डारीले जितिन् स्वर्ण

212
काठमाडौं । नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनको उपाधि जितेकी छिन् । विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)की खेलाडी रहेकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ पहिलो स्थान हासिल गरेकी हुन् ।

उनले फुल म्याराथनको निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी हुन् । यस क्याटेगोरीमा भारतीय खेलाडी दोस्रो र तेस्रो भए । महिला म्याराथनमा नेपालको कीर्तिमानी खेलाडी पुष्पाले व्यक्तिगत भने सुधार गर्न सकिनन् । उनले गत वर्ष नेपालमा भएको १३औं सागमा २ घण्टा ५० मिनेट ११ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । १३औं सागमा पुष्पाले रजत जितेकी थिइन् ।

पुष्पासँगै नेपालबाट १३औं सागका स्वर्ण विजेता किरणसिंह बोगटीले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनी शीर्ष तीनभित्र पर्न सकेनन् । किरण चौथो भए । दौडने बेला किरणलाई खुट्टा दुख्ने समस्या भएकोले राम्रोसँग दौडने नसकेको र चौथो स्थानमा सीमित भएको प्रशिक्षक धनीराम चौधरीले ढाकाबाट जानकारी दिए ।

दुवै खेलाडी व्यक्तिगत टाइमिङमा सुधार गर्ने लक्ष्यसहित ढाका पुगेका थिए । टाइमिङ निकाल्न नसकेपनि पुष्पाले स्वर्ण जित्दा किरण भने सफल हुन सकेनन् । ढाकामा मौसम केही फरक भएकोले पनि नेपाली खेलाडीलाई केही असहज उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here