निर्वाचन आयोगद्वारा बजेट माग

71

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुने गरी बजेट कार्यविधि तयार गरिएको जानकारी दिए। उनले कोभिड महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा त्यसमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतालाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको जानकारी दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बजेट व्यवस्थापनलगायतका विषयमा आयोगमा मङ्गलबार नै छलफल भएको थियो । प्रवक्ता श्रेष्ठले त्यही छलफलका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताए ।

उनले विगतका निर्वाचनमा प्रयोग गरी हाल रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको जानकारी दिँदै यसले गर्दा नयाँ सामग्री, उपकरण र सवारी साधन खरिदका लागि बजेटमा समावेश नगरेको बताए ।

आयोगका अनुुसार कोभिड सङ्क्रमणबाट बच्न सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख रकम आयोगले प्रस्ताव गरेको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here