एनआईसीकाे प्रिपेड डलर कार्ड सार्वजनिक

173
काठमाडौं । एन आई सी एशिया बैङ्कले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैङ्कद्वारा जारी ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्‌र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’ लाई मध्यनजर गर्दै यस बैङ्कले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको बैङ्कले जनाएको हो ।

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

कार्ड प्राप्त गर्नका लागि ग्राहकहरूको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहकहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्ममार्फत किनमेल गर्न सहज हुने बैङ्कले जनाएको छ ।

उक्त कार्ड जारी गर्दा बैङ्कले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । ग्राहकहरूले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्ने व्यवस्था गरिएको बैङ्कले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here