–चन्द्रप्रकाश बानियाँ
मूलतः कुलपूजा खस जातिको आदि परम्परा हो । सबै जात वर्णका खसहरुमा कुलपूजा गर्ने परम्परा रहेको छ । सम्भव भएसम्म कुलपूजा सगोलमा गर्ने चलन छ । कुनै खण्डखातिरवश बन्धु समाजबाट अलगिएका खसहरुद्वारा एक्लै वा निजी घरभण्डारमा पनि कुलपूजाको परम्परालाई निरन्तरता दिने गरिएको पाइन्छ । असल र उब्जाउ भूमिको खोजमा निरन्तर यायावर बनेर चहार्दै आएको खस जातिमा कुलपूजाको परम्परा र तिथिमिति फरक पर्न जानुको कारण त्यही हो । विभिन्न ठाउँहरुमा छरिएर रहेका खसहरुले आ–आफ्नै ढङ्कले कुलपूजालाई निरन्तरता दिँदै आएका छन् । सकभर सगोलमा नभए पनि कमसेकम आ–आफ्ना घरका मैनी खाँबो (मुख्य थाम) मा हरेक पर्वहरुमा कुलदेवताका नाममा एकजोडी धजा (रातोसेतो ध्वजापताका) बाँधेर मात्र पनि कुललाई सम्झनने गरिन्छ । कुलपूजा घरमाडौं वा वनमाडौं दुबै ठाउँमा गर्न सकिने खस परम्परा रहेको छ । घरघरमै कुलपूजा गर्ने परम्परा रहेका खस ठकुरीहरुले समेत आजकाल घरबाहिर सगोलमा पूजा दिन थालेका छन् ।
मूलतः कुलपूजा भनेको “मष्टो देवता”को पूजा हो । मष्टोलाई रुप आकारविहीन देवता भनेर मानिन्छ । अर्थात कुनै आकार आकृति नभएको तर सर्वव्यापी र सर्वशक्तिमान प्रकृतिरुपी देवताको नाम हो –मष्टो । मष्टो पुजन खस जातिको परिचय पनि हो । प्रसिद्ध विद्वान प्राध्यापक बालकृष्ण पोखरेलले कुनै प्रसङ्गमा आफू “मगरमूलीय खस” भएको घोषणा गर्नु भएको थियो । त्यसो भन्नुको कारण पानीपोखरेल वंशमा कुलदेवता वा इष्टदेवताको रुपमा “आदिवराह” लाई पुजिदै आएको कुल परम्परा रहेको हुनुपर्छ । किनकि “वराह” मगर जातिका देवता हुन् । सिंजाबाट पूर्वतर्फको संक्रमणको सिलसिलामा भेरी तरेपछि मात्र खसहरुले वराहलाई पुज्न थालेको प्रमाण भेटिन्छ । भेरीपश्चिममा “वराह” पुजिदैनन् । वराह पुज्ने समूह खस महाजातिको एउटा शाखा हो ।
एउटा रमाइलो प्रसङ्गको सम्झना आयो । एकजना बन्धुले रचना गरेको एउटा खण्डकाव्यको भूमिका लेखिदिने आग्रह टार्न नसकेपछि विषयको अभ्यास नभएपनि कनीकुथी सानो समीक्षात्मक टिप्पणी तयार गरियो तर पुस्तकमा उक्त लेखोट समावेश नगरिकनै प्रकाशित भयो । भैदिएछ के भने एक प्रसंगमा रचनाकारको काव्यरचनामा “पूर्वीया ब्राह्मण (नेपाली वाहुन) हरुले खसहरुको संगतमा परेर दैनिक व्यवहारमा आफ्नो मातृभाषा संस्कृतको प्रयोग छोडेका हुन्” भनेर लेखिएको थियो । कुरो साँचो थियो कि थिएन कुन्नी ? संस्कृत भाषा कुनै समुदायको कुनै कालखण्डमा मातृभाषा थियो भन्ने प्रमाण फेला भने पर्दैन । पाली भाषालाई परिस्कार गरेर बनाइएको भाषालाई संस्कृत अर्थात संस्कारित गरिएको भाषा भनिएको हो । कविवरको गलत बुझाई खण्डन गर्ने सिलसिलामा नेपाली बाहुन (पूर्वीया र कुमाई) हरुको मातृभाषा कहिल्यै पनि संस्कृत थिएन । यी दुबैथरी बाहुनहरुको मातृभाषा “खस भाषा” नै हो । उनीहरुको मातृभाषा खस होइन भने पनि संस्कृत बाहेकको अरु नै कुनै भाषा थियो होला । खस भाषा व्यवहारमा प्रयोग हुने ठाउँमा रहँदा बस्दा पुरानो भाषा हरायो अर्थात बिर्सिदै गइएको होला । नेपाली बाहुनहरुको मातृभाषा संस्कृत थिएन भन्ने उल्लेख गरिएकै कारणले भूमिका विना नै पुस्तक छापिएको रहेछ । अर्थात मेरो लेखोटले पुस्तकमा ठाउँ नपाएको रहेछ ।
कुन सन्दर्भमा हो कुन्नी म्याग्दी पुगेको बेलामा एकजना बगाले थापा बन्धुसँग भलाकुसारी गर्ने अवसर जुरेको थियो । उनको हातमा रहेको “खसजाति र कुलपूजा” भन्ने किताबमा परेको “नेपालमा बसोबास गर्दै आएका पहाडी ब्राह्मण, क्षत्री, दशनामी र शुद्रहरु सबै खस हुन्” भन्ने विचारसँग सायद उनलाई सहमत हुन कठिन भएको रहेछ ! योगी नरहरिनाथको भनाई अनुसार भारतको हरियाणा राज्य अन्तर्गतको तकबेली भन्ने ठाउँबाट बगाले थापाहरु म्याग्दीमा आइपुगेका हुन् र तकबेली थापाहरु बसोबास गरेको ठाउँलाई कालान्तरमा ताकक भनिएको हो” भन्ने प्रसंग सुनाएका थिए । योगी नरहरिनाथलाई इतिहासविदका रुपमा पनि चिनिन्छ । योगीजी स्वयमं बगाले थापावंशका थिए । उनले आफ्नो वंश कुनै कालखण्डमा भारतबाट नेपाल आएको हो भनेका छन् भनेर ती बन्धुले आफूलाई खसईतर अर्थात वैदिक क्षत्री भएको प्रमाणित गर्ने मनशाय राखेको बुझ्न गाहे परेन ।
अर्को अनौठो लाग्ने कुरा के पनि छ भने बगाले थापा र पौडेल ब्रह्माणहरुले वच्छराज भट्टलाई मूल पुरुष मान्छन् । दुबै थरीका वंशावलीमा त्यो कुरा साझा रहेको देखिन्छ । नरहरिनाथको भनाई मान्ने हो भने थापाहरु तकबेलीका बासिन्दा मानिने भए । पौडेलहरुका विभिन्न वंशावलीहरुको अध्ययन अवलोकन गर्ने हो भने उनीहरुले आफूलाई भारतको कन्नौजसँग जोड्ने र आफूलाई कान्यकुब्जी ब्राह्मण भएको दावी गर्ने गरेको भेटिन्छ । दुवै वंशका मूलपुरुष वत्सराजको कर्मभूमि नेपालको डोटी रहेको देखिन्छ । सबै वंशावली लेखोटहरुमा वत्सराजका छोरा “कालु वर्मा”ले डोटीमा “थापा”को राजकीय जिम्मेवारी पाएका थिए र त्यो मिति वि.सं १२४६ हो भनेर पनि मानेको देखिन्छ । वत्सराज भट्ट थिए । तत्कालीन समयमा राजपुरोहितलाई “भट्ट” भनिन्थ्यो । वंशावलीअनुसार वत्सराजकै सन्तानहरु काला पौडेल, सेता पौडेल र बगाले थापा बनेका थिए । अर्थात वत्सराजका सन्तानहरुमध्ये केही ब्राह्मण र केही क्षत्री भएको देखिन्छ ।
पौडेलहरुले आफ्ना पुर्खाहरु भारतको गढवाल पौढीबाट सिंजाप्रदेशमा आई बसोबास गरेका हुनाले आफ्नो थरको नाम पौडेल रहेको भनेर मानेको देखिन्छ । पौढी भन्ने ठाउँ नेपालमा पनि छ । वच्छराजका सन्तान हुन् भने पौडेलहरुको थरको न्वारन नेपालमै भएको हो भनेर मान्नुपर्ने हुन्छ । साँचो कुरा के हो भने वैदिक संस्कृतिको अतिक्रमण र दवावको परिणामस्वरुप खस जातिले वर्ण व्यवस्था अपनायो । यज्ञोपवित स्वीकारेर आफूलाई क्षत्री र ठकुरी भनायो । त्यसरी नयाँ वर्ण व्यवस्था अपनाउँदा नयाँ नयाँ थरहरु पनि बने । खासगरेर राजकीय जिम्मेवारी, धार्मिक उत्तरदायित्व र बसोबास गरेका ठाउँबाट थरका नामहरु रहन गएका देखिन्छन् । अर्थात पूर्वीया ब्राह्मण र खस क्षत्रीहरुका थरहरु अधिकांश त्यसरी नै रहन गएका हुन् र वैदिक परम्परासँग विल्कुल मिल्दैनन् । अर्थात वैदिक ब्राह्मण–क्षत्री र नेपाली वाहुन र खसक्षत्रीका थरहरुका नाम आपसमा मिल्दैनन् ।
विद्वान समाजसास्त्री प्रा. डा. सूर्यमणि अधिकारीले आफ्नो शोधग्रन्थमा नेपालका क्षत्रीहरुले (राणा, कुँवर, शाह) हरुले चित्तौढको राजवंशसँग रक्त सम्बन्ध देखाउँदै लेखाएका वंशावलीहरु कहिँकतैबाट प्रमाणित हुँदैनन् भनेर आफ्नो शोधग्रन्थमा उल्लेख गरेका छन् । भन्नुको मतलब नेपालका (पहाडी) क्षत्री र ठकुरीहरुको वैदिक आर्यवंशसँग नजिकको रक्तसम्बन्ध छैन र यस क्षेत्रमा रहेको खस वंशले दक्षिणमा विकसित र विस्तारित भएको वैदिक (हिन्दू) संस्कृतिको अतिक्रमण थेग्न नसकेरै वैदिक धर्म संस्कार ग्रहण गरेको हो भन्ने कुरा पुष्टि हुनजान्छ । विना कुनै आग्रह दावाका साथ भन्न सकिने कुरा के हो भने इतिहासको जुनकुनै कालखण्डमा खसहरुले यज्ञोपवित (जनै) भिरेका भए पनि त्यो डोरो आर्य राजपूतहरुको भन्दा निकै कान्छो हो । तेह्रौं÷चौधौंं शताब्दीतिर मात्र खसहरुको काँधमा जनै परेको हो । विक्रमाब्दको नवौं शताब्दीमा शंकराचार्यले कुमाउ गढवालको धर्मयात्रा गरी सनातन हिन्दू धर्म संस्कार स्थापित गरेको इतिहास प्रमाण छ । मष्ट, वोन र बुद्ध धर्ममा दीक्षित त्यताका खस समुदायलाई शंकराचार्यले हिन्दू धर्म संस्कारबाट दीक्षित बनाएका हुन सक्ने देखिन्छ ।
खस साम्राज्यमा भने विं.सं १२८० मा मात्र खसराजा गगनीराजले खसहरुबीच जनै वितरण गरेको ऐतिहासिक प्रमाण लाग्ने लिखत (वंशावली) भेटिन्छन् । राणाकालसम्म पनि केही रकम तिरेर जनै धारण गर्ने चलन खसभूमिमा जीवितै थियो । जतिबेला कुमाउ गढवालतिरका खसहरुले जनै लगाएर हिन्दू धर्मसंस्कार ग्रहण गर्दैथिए, त्यतिबेलासम्म नेपालका खसहरुले बुद्धधर्म मान्थे भन्ने ऐतिहासिक प्रमाण लाग्दछ । बुद्ध धर्म खस साम्राज्यमा कहिले छि¥यो भन्ने कुराको कुनै प्रमाण फेला पर्दैन । तर हिन्न्दू धर्म ग्रहण गर्नुपूर्व खस साम्राज्यमा बौद्ध धर्मले राजकीय मान्यता पाएको थियो भन्ने कुराको प्रमाण लाग्दछ । खस भूमिमा यत्रतत्र पुराना चैत्य र विहारहरु भेटिन्छन् । दुल्लुको शिलालेखले पनि त्यही कुरा प्रमाणित गर्दछ ।
असल संस्कार परम्पराहरु जसले जोसुकै वा जहाँसुकैबाट सिके पनि हुन्छ । खसहरुले पनि त्यतिबेलाको जमानामा सभ्य र सुसंस्कृत मानिएको हिन्दू धर्म संस्कार ग्रहण गर्नु स्वाभाविक थियो । तर आगन्तुक धर्म संस्कार संगसंगै आफूलाई वैदिक आर्यवंशसँग जोड्नु भने आवश्यक थिएन, छैन । धर्म र जाति विल्कुल अलग विषय हुृन् । जातिलाई धर्मसँग जोड्न मिल्दैन । सिंगापुर मलेसियातिर चिनियामूलका मंगोलहरु, श्रीलंकाका सिंहलहरु, भारतका इन्डो–युरोपियनहरु, अफ्रिकाका निग्रोहरु धर्मका हिसाबले मुश्लिम भए पनि जातिका हिसाबले फरक फरक मानिन्छन् । दुरुस्त त्यसैगरी हिन्दु धर्मसंस्कार ग्रहण गरे पनि खसहरु वैदिक आर्यका सन्तान होइनन् । जनै लगाएर क्षत्री, दशनामी, ठकुरी भएका हुन् वा जनै नलगाएर पावई खस वा दलित (दमै, कामी, सार्की, गाइने, वादी) भएका हुन् सबै एउटै जाति “खस” का सन्तानहरु होइनन् भन्न सकिन्न ।
खसहरुले विभिन्न कालखण्डमा भिन्न भिन्न धर्म अवलम्बन गरेको देखिए पनि आज पर्यन्त कुलपूजा गर्ने परम्परालाई भने निरन्तरता दिएको देखिन्छ । मूलतः मष्टोलाई कुल देवता भनेर पुज्ने चलन छ । कसै कसैले देवी र वराहलाई पनि कुलको रुपमा पुज्दै आएको देखिन्छ । देवी वा वराह पुज्नेहरुले पनि मष्टोलाई अनिवार्यरुपमा धुप, धजा र बलि दिने चलन छ । विभिन्न नाम रुपका मष्टोलाई कुल मान्नेहरुले पनि वराह र देवीलाई कुलपूजामा सम्झने चलन छ । अर्थात सबै खसहरुले मष्टो, देवी र वराह मध्ये कुनै एकलाई कुलदेवता मानेर तिनै थरी देवी देवताको स्मरण पुजन गर्ने चलन रहेको छ ।
कुनै कुनै खसहरुले मष्टोलाई महादेवका सहायक वा स्वयम महादेव मानेर पूजा गर्ने चलन पनि छ । कसैले इन्द्रका छोरा भन्ने चलन पनि देखिन्छ । सबभन्दा समृद्ध भनेर दावा गरिने संस्कृत भाषाका शब्दकोषमा मष्टो शब्द परेको छैन । महाइष्टबाट मष्टो बन्यो भन्ने तर्क गर्नेहरु पनि छन् । महाइष्ट लेख्ने भाषाविदहरुले मष्टो लेख्न जानेनन् भन्न मिल्दैन । त्यस्तोे तर्क हिन्दू धर्मसंग मष्टो मान्यतालाई जोड्ने चेष्टा मात्रै हो । पचास हजारभन्दा बढी हिन्दू धर्म ग्रन्थहरु लेखिएका छन् । तिनमा बिर्सेर पनि एक ठाउँमा मष्टो लेखेको भेटिदैन । १२ सयभन्दा बढी हिन्दू पर्व तिथिहरुको नामावली संकलन गरिएको छ तर त्यसमा कुलपूजा पर्दैन । त्यसैले कुलपूजा र मष्टो देवताको हिन्दू धर्मसंग कुनै साइनो सम्बन्ध छैन । मष्टो मान्यता खस जातिको प्राचीन र विल्कुल मौलिक मान्यता हो । महादेव, कार्तिकेय आदिलाई कुल देवता मानेर पुज्ने चलन पनि देखिन्छ । मष्टोइतर देवता कसरी पूजिन थाल्यो भन्ने कुरा खोजिको विषय हो । खसहरुको मौलिक धर्म हिन्दू होइन, थिएन । विगत छ सात सय वर्ष यतादेखि भने अवश्य खसभूमि नेपाल हिन्दू धर्मको प्रभावमा रहँदै आएकोछ ।


















