एजेन्सी । चीनले मंगलबार जनगणनाको सरकारी आंकडा जारी गरेको छ । जसमा बितेको दशकमा चीनको जनसंख्या निकै सुस्त गतिमा बढेको पाइएको छ ।
सरकारी आकंडा अनुसार पछिल्लो दस वर्षमा औषत वार्षिक वृद्धिदर ०.५३ प्रतिशत थियो । यद्यपि सन् २००० देखि २०१० सम्म भने ०.५७ प्रतिशत थियो ।
चिनियाँ विशेषज्ञका अनुसार जनसंख्या वृद्धिदर चिन्ताजनक रहेको छ । परिणाम हेर्दा चिनी सरकारले जनतालाई बच्चा जन्माउनका लागि अनुरोध गर्नुपर्ने दबाब आएको देखिन्छ ।
चीनमा हरेक दस वर्षमा एक पटक जनसंख्याको आकंडा जारी गरिन्छ ।
सन् २०२० काे अन्तिममा चीनको जनगणना गरिएको थियो । चिनियाँ सरकारका अनुसार, करिब ७० लाख कर्मचारीले जनगणनाको काममा लागेका थिए । चीनमा जनगणनाको कामलाई निकै गम्भीरतापूर्वक लिने गरिन्छ । किनभने जनगणनाअनुसार नै भविष्यको योजना बनाइन्छ ।
चीनमा जनसंख्या वृद्धिदर कम हुनुको कारण चिनियाँ नीति ‘वन चाइल्ड पोलिसी’ रहेको जानकार बताउँछन् । जनसंख्या वृद्धि रोक्नका लागि चीनले यो कदम सन् १९७९ मा लागु गरेको थियो ।
सन् २०१६ मा चीनले यस नीतिलाई हटाइ दुई बच्चा जन्माउनका लागि अनुमति दिएको थियो ।
वृद्ध वृद्धाको जनसंख्या बढ्दै गएको देखेर यिनको हेरचाह गर्नका लागि जनसंख्या कम भएकाले चीनले वन चाइल्ड पोलिसी हटाएको हो । चिनी सरकारले सन् २०५० सम्म तीन करोड अतिरिक्त मानिस काम गर्न सक्ने हुने अनुमान गरेको छ ।


















