काठमाडाैं । पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।
नर्भिक इन्टरनेसल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष (आईसीयू) बाट शय्यामा सारेर उपचार भइरहेको छ ।
अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिए । उनका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू तीनै जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो ।
उनीहरू कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालमा पूर्व रानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो ।
संक्रमणमुक्त भएपछि पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । रासस


















