किन छैन सरकार ?

154

तीर्थराज जोशी
किन छैन सरकार ?                                                                            कसले भन्छ यहाँ सरकार छैन भनेर ?
सरकार हुनलाई के अस्पताल अस्पताल धाउनुपर्ने ?
कि म यहाँ छु भनेर गीत गाउनुपर्ने ?
सरकार खोइ ? भनेर अनावश्यक प्रश्न किन ?
किन छैन सरकार ?

सरकार त मञ्चमा व्यस्त हुन्छ
बालुवाटारमा मस्त हुन्छ
बुझक्कड मानिएका युवाहरुको बोलीमा हुन्छ
कार्यकर्ताहरुको झोलीमा हुन्छ
अनि
हा हा हि हि र हु हु गर्ने
थपडीमारहरुको तालीमा हुन्छ
किन छैन सरकार ?

सरकार जनता खोज्दै
दैलो दैलोमा पुग्ने होइन
सरकारले जनताको दैलो ढुक्ने होइन
जनता सरकारको खोजीमा आउनु पर्छ
एकपटक मात्र होइन
पटक पटक धाउनु पर्छ
किन छैन सरकार ?

चुनाबताका टोलटोलमा थियो सरकार
समृद्धिको नारा लगाउँदाको बखत
बिजुलीका पोलपोलमा थियो सरकार
सरकार आएको थाहै नपाउनेहरु
आफू सुतिरहन्छन्
अनि
सरकार खोइ भनेर प्रश्न गर्छन्
किन छैन सरकार ?

कोही अस्पतालमा रोइरहेछन्
अक्सिजन खोजीरहेछन्
कोही सडकमा रुन्छन्
खाना खोजीरहेछन्
कोही घरभित्र लुकिरहेछन्
जाबो खाना र अक्सिजनको पछि लाग्छन्
सरकार भेट्न सक्दैनन्
अनि भन्छन् सरकार खोइ ?
किन छैन सरकार ?

मान्छेहरु रोगले मरिरहेछन्
कोही थला परिरहेछन्
जाबो श्रद्धाञ्जली र स्वास्थ्यलाभमा भुलेकाहरु
न सरकारलाई बधाई दिन्छन्
न सरकारको दीर्घजीवनको कामना गर्छन्
तर भनिरहन्छन् सरकार खोई ?
किन छैन सरकार ?

सरकार चिताको बन्दोबस्तमा छ
शववाहनको खोजीमा छ
अस्पतालको बाहिर व्यस्त सरकारलाई
अस्पतालभित्र खोजेर भन्छन्, सरकार खोई ?
किन छैन सरकार ?

सरकारलाई अस्पतालमा खोज्ने होइन
सरकारलाई सडकमा खोज्ने होइन
सरकार अहिले पत्रिकामा छ
टेलिभिजनमा छ
यसको असली रुप त अझ
संविधानमा छ
सरकार खोज्न नजान्नेहरु
सरकार खोज्न नसक्नेहरु
भन्छन् सरकार खोइ ?
किन छैन सरकार ?

सरकार हेर्न दिव्य शक्ति चाहिन्छ
सरकार देख्न कठोर भक्ति चाहिन्छ
न भक्ति न भजन
बिना परिश्रम
बिना लगाव
सरकार हेर्न कहाँ पाइन्छ ?
किन छैन सरकार ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here