म्युनिख । जर्मनीले पोर्चुगलविरुद्ध ४ गोलले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग पराजित भएको थियो । लयमा फर्केको जर्मनी सामु रोनाल्डोले नेतृत्व गरेको पोर्चुगिज टोलीलाई हिजोको खेलमा भाग्यले पनि साथ दिएन । ऊ २–४ ले पराजित भयो ।
समूह ‘एफ’ बाट विश्व विजेता फ्रान्स, युरो कपको डिफेन्डिङ च्याम्पियन पोर्चुगल र फुटबलमा साम्रज्य कायम गरेको जर्मनीमध्ये दुईवटा टोली नकआउट चरणमा प्रवेश गर्नेछ । दुई खेलको समाप्तिमा समीकरण पनि जटिल बनेको छ । जर्मनी र पोर्चुगल दुवैको समान ३–३ अंक छ । ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ । हंगेरीसँग १ अंक मात्र छ, र, पनि उसको नकआउट चरणमा प्रवेशको सम्भावना टरेको छैन । हिजोको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुप-यो ।
कुन टोली नकटआउट चरणमा प्रवेश गर्छ भन्ने कुराको निक्र्योल अन्तिम खेलले मात्र गर्नेछ । अब फ्रान्सले पोर्चुगलको सामना गर्दा जर्मनीले हंगेरीसँग खेल्नेछ । सबै टोलीलाई जीत आवश्यक छ । जसले गोल गर्न सक्दैन ऊ छनोट चरणबाटै घर फर्किनेछ ।
युरोकप फुटबलमा आजबाट समुहका अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् । हिजोको खेलमा जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे । तर यसपछि जर्मनीले लगातार चार गोल ग-यो । उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका हुन् ।
६७ औं मिनेटमा डिएगो योटाले एक गोल थपेपनि पोर्चुगललाई हारबाट जोगाउन सकेनन् । यो जितपछि समुहको दोस्रो स्थानमा उक्लिएको जर्मनीले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा पोर्चुगल तेस्रो स्थानमा झरेको छ ।
युरोकप फुटबलकै अर्को खेलमा स्पेन र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्पेनका लागि अल्भारो मोराटाले पहिलो गोल गर्दा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका हुन् ।
आज राती पौने १० बजे समुह ‘ए’ का दुई खेल हुनेछन् । राउण्ड अफ सिक्सटिनमा पुगिसकेको इटालीले वेल्ससँग खेल्दा स्वीट्जरल्याण्ड र टर्की भिड्नेछन् ।


















