काठमाडौं । फ्रान्सले १६ औँ संस्करणको युरोकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा हंगेरीसँग बराबरी खेलेको छ । शनिबार फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।
पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । रोमाञ्चक खेलमा सुरुवाती अग्रता घरेलु टिम हंगेरीले बनाएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए ।
विश्वकप विजेता फ्रान्सले उत्कृष्ट प्रदर्शन गरे पनि विजयी भएन । बराबरीसँगै समूह ‘एफ’को फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ । फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । हंगेरी १ अंकसहित तेस्रो स्थानमा छ ।


















