काठमाडौं । बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्वबाट पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ४६ जना घाइते भएको जानकारी दिएका छन् ।
मनसुनजन्य विपदबाट सिन्धुपाल्चोक, मनाङ, लम्जुङ, कास्की, गोरखा, अर्घाखाँची, खोटाङ, तनहुँ, सर्लाही लगायतका जिल्लामा ५०५ निजी घर पूर्ण क्षति भएको र ११२ घरमा आंशिक क्षति भएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए । असार १९ गते सुनसरीमा थला खोला, ट्याङ्ग्रा खोला, बुढी खोला, केशलिया खोला र धनुष खोलामा आएकोे बाढीले २०० घर डुवानमा परेका छन् ।
त्यस्तै बाढी पहिरो र डुवानका कारण ३६ सरकारी कार्यालय भवन, ९ वटा विद्यालय भवनमा पनि क्षति पुगेको छ । त्यस्तै सिन्धुपाल्चोकमा ७, मनाङमा २, चितवनमा २, तनहुँ, मोरङ, उदयपुर र सिराहामा १-१ वटा गरी १५ वटा मोटरेबल पुलमा क्षति भएको छ ।
त्यस्तै मनाङमा ५ वटा मोटरेबल काठेपुल, सिन्धुपाल्चोकमा १४, मनाङमा ७ र गोरखा र तनहुँ जोड्ने एउटा गरी २३ वटा झोलुङ्गे पुलमा क्षति भएको छ ।
















