स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि

107

स्याङ्जा । स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।

निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उनीहरूमा नयाँ भेरियन्ट डेल्टा बि १.६१७.२ भएको पुष्टि भएको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौँ पठाइएकामा स्याङ्जाका दुईसहित गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया तीन महिला गरी पाँच जनामा नयाँ भेरियन्ट फेला परेको हो।

नयाँ भेरियन्ट पुष्टि भएका स्याङ्जाका दुवै जना संक्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी गराए ।  संक्रमितमा अहिले त्यस्तो कुनै पनि समस्या नरहेको अध्यक्ष थापाले जानकारी दिए।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी संक्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ। जिल्लामा पनि नयाँ भेरियन्टका संक्रमित फेला परेपछि यहाँका बासिन्दा त्रसित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here