काठमाडौं । भोजपुर, डाँका मुद्दाका फरार प्रतिवादी झापा दमक नगरपालिका-३ स्थित भुटानी शरणर्थी शिविर बेलडाँगी बस्ने ३१ वर्षीय सुवास विश्वा(विक)लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भोजपुरको २०७३ फागुन १९ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय दमकको समन्वयमा उनकै ठेगानामा लुकीछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
२०६९ असार १८गते राति भोजपुर नगरपालिका-२ हेलौछाको जङगलमा सुवास समेत ७ जनाको समूहले सोही नगरपालिका-२ बस्ने सडक निर्माण समितिका अध्यक्ष धन बहादुर राई समेतले सडक निर्माणमा काम गर्ने मजदुरहरुलाई नगद रुपैयाँ बितरण गर्न जान लागेको अवस्थामा नगद ८ लाख ५१ हजार ५ सय रुपैयाँ लुटपाट गरी डाँका गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
कास्कीकाे बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-६ ठेगाना भएका ४२ वर्षीय खमेराज पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ईजलास हेटौंडाको २०७८ वैशाख १५ गतेको फैसलाले बैकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र १७ लाख ८४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला
प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


















