मंसिरमा कांग्रेसको महाधिवेशन गर्छौं: सावद

222

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी सावदले पार्टीको चौधौं महाधिवेशन आगामी मंसिरमा हुने बताएका छन् । नेता सावदले अब पूर्व कार्यतालिका अनुसार भदौ १६ बाट महाधिवेशन हुन सक्ने अवस्था नरहेको जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता सावदले भने, “क्रियाशील सदस्यता विवाद लगभग टुंगिएको छ । तर पूर्वकार्यतालिका अब महाधविशेन गर्न सम्भव छैन । कोभिड महामारीविरुद्धको खोप डेढ करोड लगाएको तथ्यांक आएको छ । दसैंतिहार सकिएपछि मंसिरमा महाधिवेशन गर्न सकिने मोटामोटी आकलन छ ।”

नेता सावदले अहिलेका ठूला राजनीतिक दलहरु नेकपा एमाले र माओवादी केन्द्र्भन्दा सवैभन्दा पछाडि कांग्रेसको महाधिवेशन भएको स्मरण गर्दै कोभिड महामारीको समस्यालाई बुझ्नुपर्ने बताए । उनले भने, “विकल्प धेरै छन् । अदालतले कोभिड महामारी र लकडाउनलाई शून्य समय गणना गरेको छ । दलको ऐनमा जरिवाना बुझाउने प्रबन्ध पनि छ ।”

प्रक्रिया छोट्याउने या विशेष महाधिवेशन पनि आवश्यक नभएको उनवले बताए । उनले भने, “प्रक्रिया जति छोट्याए पनि लोकतान्त्रिक अधिकारको सम्मान गर्नुपर्छ । विशेष महाधिवेशन किन गर्ने ? नियमित महाधिवेशन गर्ने भनिरहेका छौं । अदालतमा हेर्दाहेर्दै भनिन्छ, पार्टीको पनि महाधिवेशन गर्दागर्दै हुन सक्छ । तर वडाको अधिवेशन र केन्द्रीय महाधिवेशनबीच धेरै ग्याप राख्दा धान्ने अवस्था आउँदैन । अस्वस्थ प्रतिस्पर्धा हुन जान्छ । त्यसैले एकैचोटि गर्नुपर्ने अवस्था छ ।”

कांग्रेसको दर्ता खारेज हुने कुरा हल्ला मात्र भएको नेता सावदले दाबी गरे । उनले भने, “नेपाली कांग्रेस राखेर राखिने अनि खारेज गरेर खारेज हुने पार्टी होइन । यसको साढे सात दशकको इतिहास छ । पार्टी नेतृत्वले पनि निर्धारित अवधिमै महाधिवेशन गर्न चाहेको हो । पार्टी सभापति पहिलो व्यक्ति भएकाले सबैको ध्यान जान्छ । तर कांग्रेस पार्टी सभापतिको मात्र होइन, सबैको हो । हाम्रो त क्रियाशील सदस्यता नै १० लाखको हाराहारीमा पुगेको छ ।”

पाँच वटा दलको सरकार भएकाले एक महिनामा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको उनले स्वीकारे । उनले भने, “२३ सिट जितेर पनि सरकार गठन गर्न सफल भएका छौं । यो अनपेक्षित चुनौती हो । हामीले एकअर्कालाई दोषारोपण गर्नुपर्ने अवस्था छैन ।”

उनले मन्त्रिपरिषद् विस्तार तीन चरण्णमा गर्न सकिने सुझाव दिए । उनले भने, “सम्भव भयो भने माधव नेपाल समूहसहित बनाए पनि भयो । त्यसो नहुँदा माधव नेपाल समूहका लागि केही मन्त्रालय राख्ने र नआउने स्थिति बन्यो भने पछि अरुलाई नै थप्न गर्न सकिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here