काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको दोषारोपण गर्ने माधव नेपालले नै आज किन हटाउँछौं भन्नु राजनीतिक बेइमानी हुने बताएका छन् । अष्टलक्ष्मी शाक्य केही फरक स्थितिमा बाग्मती प्रदेशकी मुख्यमन्त्री भए पनि उनलाई विश्वासको मत दिनु माधव नेपालको कर्तव्य हुने उनले दाबी गरे ।
राजनीतिक नैतिकता देखाउने हो भने एमालेकै निर्वाचन चिह्न र घोषणापत्र लिएर जितेका सांसदले अर्को पार्टी रोज्न नसक्ने पनि उनले बताए । उनले भने, “सरकार नै नेकपा एमालेलाई नफुटाई नहुने हिसाबमा लागेर दल विभाजन अध्यादेश ल्यायो । कारबाही गरिसकेका मानिसलाई निर्वाचन आयोगले सनाखत गरेको छ, सभामुखले तिकडम गरेका छन्, अब हामी कानुनी उपचारमा लाग्छौं । अदालतले न्याय नदिए जनताले दिन्छन् ।”
हिजो माधव नेपाल समूहमा रहेका नेताहरु नयाँ पार्टीमा लाग्नु स्वाभाविक भएको पनि उनले बताए । उनले भने, “जो हिजो माधव कमरेडसँगै हुनुहुन्थ्यो, उहाँहरु नयाँ पार्टीमा लाग्नु के अनौठो भयो र ? कोही पनि व्यक्तिलाई दल छनोटको स्वतन्त्रता छ । तर विगतको अनुभवले के देखाएको छ भने नयाँ दल बनाउनेहरु निरन्तर असफल मात्र भएका छन् । घुमफिरी एमालेमै आउने हो भने एमालेमै बस्नूस् भन्ने आग्रह हुन्छ । तर काँडेतार लगाएर कसैलाई पार्टीमा थुनेर राख्दैनौं । तर फर्केर आउने सबैलाई ढोका खुलै राख्छौं ।”
दलविभाजनसम्बन्धी अध्यादेशले भोलि कांग्रेस र माओवादी नै फुट्ने स्थिति रहने उनले बताए । उनले थपे, “म सत्तारुढ दलहरुलाई चेतावनी दिन चाहन्छु, भोलि यही अध्यादेशले आफ्नै पार्टी विभाजित होला । यस्ता कानुनले व्यवस्थामाथि नै समस्या निम्त्याउँछ । यसलाई तत्काल खारेज गर्नुपर्छ ।”


















