काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले आफ्नो भुक्तानी सेवा सुरु गरेको हो ।
यससँगै अब प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सक्ने जनाइएको छ ।
यसरी खोलिएको खाताबाट ५००० रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । यस बाहेक नमस्ते पे को सेवा प्रयोग गर्न सकिने गरी मोबाइल एप समेत सार्वजनिक गरिएको छ ।
हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो एप अबको केही सातामा आईओएसमा समेत उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । कम्पनीको वेबसाइट समेत भोलि बुधबारबाट भुक्तानीका लागि तयार हुने बताइएको छ ।
नमस्ते पेबाट हाललाई खानेपानी, बिजुली र मोबाइल टपअप गर्न सकिने सकिन्छ । तत्कालका लागि नेपाल टेलिकमको टपअप सुविधामात्र रहेकोमा एनसेल र स्मार्ट टेलिकम लगायतको भुक्तानी कार्य समेत एपमा थप्ने तयारी भइरहेको छ ।
साथै वालेटबाट वालेटमा (नमस्ते पेको एउटा खाताबाट नमस्ते पेकै अर्को खातामा) रकम ट्रान्सफर, क्यूआर कोड पेमेन्ट, अफलाइन मोड (इन्टरनेट नहुँदा समेत एपबाट भुक्तानी गर्न सकिने फिचर) आदि जस्ता फिचर समेत कम्पनीको एपमा राखिएका छन् ।
कम्पनीका सीईओ भण्डारीका अनुसार हाल नौदेखि दश ओटा बैंकबाट वालेटमा रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध छ । ‘अन्य बैंकहरूलाई समेत एपमा जोड्ने कार्य चलिरहेको छ,’ टेकपानासँगको कुराकानीमा उनले भने ।
एन्ड्रोइडमा नमस्ते पे एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।