टेकुमा २४ सै घण्टा ‘इआरआइजी’ सेवा

141

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा इक्वाइन रेबिज इम्युनोग्लोबुलिन (इआरआइजी सेवा) २४ सै घण्टा लिन सकिने भएको छ। इमरजेन्सी विभागबाट २४ सै घण्टा इआरआइजी सेवा लिन सकिने अस्पतालले जनाएको छ। कुकुरले टोकेर गहिरो घाउ भएको ठाउँमा लगाइने सुईलाई इआरआइजी भनिन्छ।

रेबिज विरुद्ध लगाइने खोपले काम गर्न समय लाग्ने भएकाले तत्काललाई भारस निष्क्रिय पार्नका लागि यो खोप लगाइने गरेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। यो सुई कुकुरले टोकेको घाउ गहिरो र ठूलो भए मात्र लगाइने गरेको उनले जनाए ।

‘कुकुरले टाकेर घाउ निकै गहिरो र ठूलो छ भने यो सुई लगाउनुपर्छ। रेबिज विरुद्धको खोपले काम गर्न करिब एक साताजति लाग्ने भएकाले तत्काललाई भाइरस निष्क्रिय बनाउन यो सुई लगाउनुपर्छ।’, उनले भने।

यसअघि ओपिडी अन्तर्गत बिहान १० देखि दिउसो साढे १ बजेसम्म मात्र यो सेवा सञ्चालन हुँदै आएको थियो। सीमित समयमा मात्र यो सेवा सञ्चालन हुँदा बिरामीहरुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था थियो। तर अब भने सेवा सञ्चालनसँगै उक्त बाध्यता हटेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जनाए।

उनले भने, ‘कुकुरले टोकेर गहिरो घाउ लिएर बिरामीहरु रातको समयमा पनि आउँछन्। तर ओपिडीमा मात्र यो सेवा भएकाले बिरामीलाई वीर, पाटन अस्पतालमा रिफर गर्थ्यौं। अब भने शुक्रराज अस्पतालमा २४ सै घण्टा बिरामीले सेवा लिन सक्छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here