धर्मनिरपेक्ष समाजमा नै धार्मिक विवाद हुनुको कारण खोजिनु पर्छ ।

59

— प्रीति रमण

हुन त राजनीतिमा धर्मको कुनै स्थान नहुनुपर्ने हो । राजनीतिले नै धर्मलाई मार्गदर्शन गर्नुपर्ने हो । तर संसारका विकसित देशहरुमा पनि धर्मले राजनीतिलाई सञ्चालन गरिरहेको जस्तो देखिन थालेको छ । अल्पविकसित देशहरुको समस्या धर्ममै गिजोलिएको अवस्थामा विकसित देशहरु समेत धर्मप्रचारलाई राजनीतिको मुख्य लक्ष्य बनाउन थालेपछि संसारलाई धर्मले प्रभाव पार्न थालेको छ । अरु धर्महरुलाई समाप्त गर्दै विकिसित देशहरुले मान्ने धर्मलाई स्थापित गर्न प्रयास भइरहेको महसुस हुन थालेको छ । संसारका धेरै देशहरुमा भइरहेका हिसांत्मक  गतिविधिहरु धर्मकै कारणले भएका देखिन्छन् ।

पछिल्लो पटक बंगलादेशमा अल्पसंख्यक हिन्दुहरुमा माथि सांघातिक आक्रमण सुरु भएका छन् । बंगलादेश धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्ष मुलुकमा अल्पसंख्यक धर्मावलम्बीहरुको संरक्षण हुनु पर्ने हो । तर त्यसो भएको पाइएको छैन ।  बंगलादेशका हरेक हिन्दूलाई जस्तै बोनोलता दासलाई पनि मन्दिर सुरक्षित र पवित्र ठाउँ भएको विश्वास थियो । तर त्यहाँ यो विश्वासले ढोका पाएको छ । कलेज पढिरहेको आफ्नो २१ वर्षको छोरा प्रान्तचन्द्र दास गत हप्ता बंगलादेशको दक्षिण–पुर्वी जिल्ला नोअखलीमा रहेको मन्दिरको कम्प्लेक्समा बस्न जाँदा उनलाई कुनै चिन्ता थिएन । तर, सोचेजस्तो भएन । प्रान्तलाई मुस्लिम बाहुल्य देशका अतिवादीहरुले मृत्युको मुखमा पुग्ने गरी कुटपिट गरे । बंगलादेशमा यो घटनाले चर्को रुप धारण गरेको छ । हिन्दूहरुको धार्मिक पर्व दुर्गा पुजाको अवसरमा बंगलादेशको कोमिल्ला शहरमा स्थापना भएको मण्डपमा कुरानको अपमान भएको हल्ला चलेपछि बंगलादेशमा हिंसा भड्किएको थियो । प्रान्तचन्द्र त्यही हिंसाको सिकार भएका थिए । दुर्गा पूजामा कुरानको अपमान भएको सामाजिक सञ्जालमार्फत हल्ला फैलिएको केही घण्टापछि नै सयौं मुस्लिम कट्टरपन्थीहरुले कोमिल्ला शहरमा रहेका हिन्दू धार्मिक मन्दिरहरुमा आक्रमण गरेका थिए । त्यहाँ मन्दिरहरु भत्काइएका थिए । हिन्दू समूदायका सयौं घर तथा पसलहरुमा आगो लगाइएका थिए । हिंसामा दुई हिन्दूसहित सात जनाको मृत्यु भएको थियो ।  भने कयौँ घाइते भएका थिए । प्रहरीले विभिन्न ठाउँमा टियर ग्यास र हवाइ फायर गरेर भिडलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो ।

इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस (इस्ककन) ले सञ्चालन गरिरहेको मन्दिरमा भएको हमलाबारे थाहा पाउने बित्तिकै दास र उनको परिवारले छोराको खोजी गरेका थिए । तर, उनीहरुको छोराको शव भोलिपल्ट नजिकैको तलाउमा भेटियो । उनको शरिरभरि चोट देखियो । ‘अझै हमला हुन्छ भन्ने त्रासले हिन्दुहरु आतंकित थिए ।

१६ करोड ५० लाखभन्दा धेरै जनसंख्या रहेको बंगलादेशमा हिन्दूहरुको संख्या केवल नौ प्रतिसत मात्र छ । विगतमा पनि धार्मिक अल्पसंख्यकहरुमाथि आक्रमण हुने गरेका थिए बंगलादेशमा । तर, यस पटक भएको हमला बंगलादेशको इतिहासमै सबैभन्दा ठूलो रुपको भएको छ । हिन्दू समुदायमाथि पूर्वतयारीसहित हमला भएको छ, कोमिल्ला शहरमा हिन्दूको चाड मनाउने समूहकी प्रमुख अचिन्ता दास भन्छिन् – कुरानजस्तो धार्मिक किताबलाई हिन्दूले अपमान गरेको कुरा गलत प्रचार हो । मन्दिरमा हमला भएको दोस्रो दिन प्रधानमन्त्री शेख हसिनाले आपत्ति जनाउँदै आक्रमणमा संलग्नहरुलाई पक्राउ गरिने घोषणा गरेकी थिइन् । तर, प्रधानमन्त्रीको चेतावनी विपरित बंगलादेशका धेरै भागमा पनि हिन्दुहरु माथि आक्रमण सुरु भयो । अल्पसंख्यक हिन्दु समुदायमा आतंक फैलिन थाल्यो । एक समय त सरकारले २२ जिल्लामा सुरक्षाकर्मीहरुलाई दंगा नियन्त्रणका लागि खटाएको थियो ।

हिंसा सुरु भएको करिब एक हप्तापछि सामाजिक सञ्जालमा ‘हिन्दूहरुले इस्लामको धार्मिक ठाउँको अपमान गरेको’ दाबी गर्ने पोस्ट व्यापक बनाइए । त्यसपछि उत्तरी बंगालदेशमा फेरि दर्जनौं हिन्दूहरुका घरमा आगजनी गरिए । बंगलादेशका गृहमन्त्री अशदुज्जमान खानले सयौं मानिसलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जानकारी गराएका छन् । उनले सञ्चारमाध्यमलाई जनाएअनुसार कतिपय मानिसले भ्रममा पार्न विगतका विभिन्न समयमा देशका विभिन्न ठाउँमा भएका क्रुर घटनाका भिडियो फुटेजहरु सामाजिक सञ्जालमा राखेर अफवाह फैलाएका छन् । यता, इस्लामिक अभियानका नेतृत्वकर्ताहरुले पनि अल्पसंख्यकमाथिको कुनै पनि किसिमको हिंसाको विरुद्धमा आपूmहरु रहेको भन्दै प्रतिकृया जनाइरहेका छन् । मन्दिरहरुमाथि हमला गर्नेहरुलाई सजाय हुनुपर्छ  भन्दै  मुश्लिम समुदायबाट पनि आवाज उठिरहेको छ । तर, विश्लेषकहरुका अनुसार वर्षौँदेखि बंगलादेशमा कट्टर इस्लामिक समूहहरुले महत्व पाइरहेका छन् । सन् २००८ यता सत्तामा रहेको अवामी लिगले धार्मिक असहिष्णुता र कट्टरपन्थीहरुलाई सम्बोधन र नियन्त्रण गर्न असफल भएको छ । सरकारले राजनीतिक लाभका लागि कट्टरपन्थीहरुसँग सम्झौता गरेको छ, विशेषगरी लोकतान्त्रिक नीतिका लागि यो कालो धब्बाको रुपमा पनि चर्चा गरिएको छ ।

हिन्दू समुदायका नेताहरु सन् १९४७ मा बंगलादेशमा ३० प्रतिशत रहेको र पलायनकै कारण अहिले नौ प्रतिशतमा झरेको तर्क गर्छन । धेरै जसो हिन्दू समूदायका मानिस भागेर छिमेकी देश भारतमा शरण लिन जाने गरेको पाइएको छ । यसले गर्दा धर्मनिरपेक्षताको मान्यता माथि प्रश्न खडा भएको छ । अधिकारकर्मी तथा अभियन्ताहरुले पछिल्ला सरकार धार्मिक अल्पसंख्यकमाथि पटक–पटक भइरहेको आक्रमणका घटनाविरुद्ध आवश्यक कदम चाल्न असफल भएको टिप्पणी गरिरहेका छन् । ‘उचित अनुसन्धानको अभावले बंगलादेशको एउटा ढाँचा मात्रै नभएर अल्पसंख्यकको सुरक्षाको अभाव पनि देखाउँछ,’ एम्नेष्टी इन्टरनेशनलको दक्षिण एसियाली अभियानकर्ता साद हम्मादी भन्छन्, उनले भनेका छन् — ‘दण्डहिनता र आवश्यक उपायको अभावका कारण साम्प्रदायिक हिंसा दोहोरिइरहेको छ । ’

बंगलादेशी कानुनमन्त्री अनिसुल हक पनि अल्पसंख्यकमाथि भइरहेका आक्रमणमा भइरहेको अनुसन्धानमा कुनै प्रगति नभएको कुरालाई अस्वीकार गर्छन् । उनले सरकारले इस्लामिक समुदायलाई सन्तुष्ट पार्न खोजिरहेको भन्ने आरोपको पनि खण्डन गरेका छन् । उनले भने, ‘त्यस किसिमको कुनै पनि आरोप ठीक छैन। हामी हरेक धर्मका सबै सदस्यहरु सद्भावपूर्ण रुपमा रहुन् भन्ने चाहन्छौं ।’

केहीले भने सीमापारि भारतमा हिन्दू राष्ट्रवादी राजनीतिक पार्टी भाजपा सत्तामा रहँदा बढिरहेको मुस्लिम विरोधी भावनाले बंगलादेशी कट्टरपन्थी मुस्लिममा क्रोध पैदा गर्नमा केही हदसम्म जिम्मेवार रहेको जनाएका छन् । भाजपाले बंगलादेशलाई आक्रोशित बनाउँदै बंगलादेशबाट अध्यागमन बढ्ने त्रास रहेको जनाएको छ । भारतका हिन्दू कट्टरपन्थीहरुले भने आप्रवासीहरुलाई बंगलादेश नै निर्वासन गर्न आह्वान गरेका छन् ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here