अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी

153

काठमाण्डाै – सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका  लागि पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोक्नु भएको हो ।

उहाँले आज पनि  आफ्ना लागि इजलास गठन गर्नु भएको छैन । हिजो पनि  बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइका लागि पेशी तोकिएको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । उनीहरुको आग्रहअनुसार नै प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरणका निवेदनमा मात्रै पेशी तोक्नु भएको हो । जबराले हिजो सम्मानजनक बहिर्गमन बारे सर्वोच्चका तीन न्यायाधीशसँग कुराकानी गर्नु भएको थियो ।

न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँग सम्मानजनक बहिर्गमनको बाटो बारे छलफल भए पनि त्यो बाटो के हो भन्ने विषय सार्वजनिक गरिएको छैन । यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसिएशनले सर्वाेच्च अदालतमा विरोध प्रदर्शन गरेको छ ।  प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको आज अन्तिम दिन बार एशोसिएशनले विरोध प्रदर्शन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here