काठमाडौं । चीनसँगको सम्बन्धलाई लिएर विगत केही दिनदेखि सोलोमोन टापुमा भइआएको प्रदर्शन दङ्गामा भड्किए पछि क्यानबेराले त्यहाँ प्रहरी, सेना र कुटनीतिक कर्मचारीलाई पठाइएको छ ।
प्रदर्शनकारीले त्यहाँको राष्ट्रिय संसदमा प्रवेश गर्ने प्रयास गरेका थिए ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ७५ संघीय प्रहरी ४३ सैनिक जवान र कम्तीमा पाँच जना कुटनीतिक कर्मचारीलाई सोलोमोन टापुमा स्थायित्व तथा सुरक्षा कायम गर्न पठाइएको बिहीबार बताए ।
सोलोमोन सरकारले सन् २०१९मा ताइवानसँगको कुटनीतिक सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको थियो । त्यो सरकारले ताइवान चीनको भूमि भएको भन्दै यो निर्णय गरेको थियो ।
अहिलेको प्रदर्शन र दङ्गाको केन्द्रमा यो विषय रहेको छ । सोलोमोन आइसल्यान्डस्का प्रधानमन्त्री मानासेह सोगाभरेले बुधबार ३६ घन्टे लकडाउनको घोषणा गरेका थिए । त्यसपछि राजधानी होनिआरामा उनको राजीनामा माग्दै विरोध प्रदर्शन भयो।
प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्ति तोडफोड गर्दै संसद भवनमा प्रवेश गर्ने प्रयास गरेका थिए ।
अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले टापुको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु मनसाय नभएको जनाएका छन् ।
कफ्र्यु र लकडाउनका बाबजुत सोलोमोन आइसल्याण्डको चाइनाटाउन जिल्लामा पसल र भवनहरूमा प्रदर्शनकारीहरूले लुटपाट मच्चाएका थिए ।


















