अमेरिकी सेनासँग नेपाली सेनाको संयुक्त तालिमको औचित्य के ?

75

नेपालमा अमेरिकाको  चासो  निक्कै बढिरहेको भन्ने बारे चर्चा चलिरहेको पाइन्छ । नेपाल असंलग्न राष्ट्रहरुको सदस्यको हैसियतले स्वतन्त्र राष्ट्रको हैसियतमा रहन पाउनु नेपालको अधिकार हो । सन् १९४८ मा संयुक्त राष्ट्र संघले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा सार्वजनिक गरेको हो । त्यस घोषणापत्रको धारा १५ मा प्रत्येक देशहरुलाई राष्ट्रियताको हक र अधिकार सुनिश्चित गरिएको छ । नागरिकता र राष्ट्रियता जोडिएका शब्द हुन् । प्रत्येक नागरिकले आफ्नो देशको राष्ट्रियताको बारेमा बोल्न पाउनु पर्छ, लेख्न पाउनु पर्छ, संगठन गर्न पाउनु पर्छ भन्ने मान्यता नै यसको अर्थ हो ।

राज्यप्रणालीमा आवश्यक  गतिविधिहरु स्वयम् सचेत र जागरुक बन्नुपर्दछ । निर्वाचनमा मत खसाल्ने मात्र जनताको अधिकार होइन । जनताको अधिकार के हो भन्ने कुरा राज्यले बुझ्न सक्नु पर्दछ । तर नेपाल यस्तो देश बनेको छ,  जुन देशको सरकारले  नागरिकहरुका अधिकारप्रति कुनै चासो राख्दैन ।

यसैबीच सात समुन्द्र पारीको देश अमेरिकाले नेपालमा एमसीसी सम्झौताको बहानामा आफ्नो सैन्यमिसन नेपालमा ल्याउन खोजेको भनेर जनस्तरबाट नेपालमा आवाज उठिरहेको छ । तर अमेरिकाले नेपाली जनताको आवाजलाई नजर अन्दाज गरिरहेको छ । हालैमात्र नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सम्पन्न भएको छ ।  काठमाडौं, पोखरा र अन्नपूर्ण आधार शिविर बेस क्याम्प इलाकामा सञ्चालन भएको तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारजस्ता विषयको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भनेर प्रचार गरिएको छ । नेपालमा अमेरिकाबाट सेनाको टोली नै आएर यस्तो संयुक्त तालिम गरिएको खुलासा भएको छ ।

तालिममा नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आएका ४५ जना र अन्य सम्बद्ध निकायबाट चार जना गरी जम्मा ४९ जना रहेको जनाइएको छ भने त्यसैगरी अमेरिकी सेनाका १७ जनासमेत ६६ जनाले  तालिममा भाग लिएको जानकारी खुलासा भएको छ । संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धिका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी प्रमुख आतिथि रहनुभएको  तालिम समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठ, युद्धकार्य विभागका प्रमुख उपरथी निर्मलकुमार थापालगायत नेपाली सेना तथा अमेरिकी सेनाका अधिकृतको उपस्थिति रहेको जनाइएको छ । यो तालिमले स्पष्ट गर्दछ  नेपालमा अमेरिकी सेनाको बाक्लो उपस्थिति भइसकेको छ । पटक—पटक अमेरिकी सेनाको उपस्थिति नेपालमा भइरहेको बारे चर्चा पनि चलेको पाइन्छ । तथापि यो खालको तालिम नेपालको निम्ति कति आवश्यक छ  भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्न जान्छ । अमेरिकाबाट नेपालमा सैनिक टोली आएर नेपाली सेनालाई तालिम गराउनु तर नेपाली भूभाग अतिक्रमण भइरहेको अवस्थाप्रति नेपाली सेनाले कुनै चासो नदेखाउनु  आश्चर्यजनक विषय हो । नेपाली सेनाले विपद्व्यवस्थापनमा अरु देशका सेनाबाट तालिम लिनु पर्ने आवश्यकता छैन । नेपाली सेना शान्ति सेनाको काममा समेत विश्वमै ख्यातिप्राप्त गरेको सैन्यशक्ति हो । यो सेनाले मनोबल घटाउनु पर्ने कुनै कारण छ भने सैनिकहरुको पारिश्रमिकको सवाल हो । उचित पारिश्रमिकको व्यवस्था नगरेर विदेशी शक्तिका स्वार्थका लागि नेपाली सेनालाई लडाउने भाडाका मानिस बनाउने काम नेपाल सरकारले गरिरहेको छ । यस्तो कामको अन्त्य जरुरी छ, आगे सबैलाई चेतना भया !   जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here