राजसंस्था पुनस्र्थापनाका पक्षधरहरु पनि विभाजित

62

काठमाडौं / देशमा गणतन्त्र बहाली भएको १५ वर्ष पूरा भइसकेको छ । यस अवधिबीच सत्ताको बागडोर सम्हाल्न पाएका राजनीतिक दलका नेताहरुले जनतालाई सन्तुष्टि दिलाउन सकेका छैनन् । जनतामा नेताहरुप्रति वितृष्णा पैदा भइरहेको छ । जनता निराश छन् । विदेशी शक्तिको चलखेल तीब्र छ । तर पनि राजनीतिक दलहरुका नेतृत्व तहमा पुग्ने व्यक्तिहरुका अनुहार नयाँ आउन सकेको पाइएको छैन । यो अवस्थाले देश र जनताले अपेक्षा गरेको रुपान्तरण अभियान अवरुद्ध हुने र जनतामा निराशा थपिने सम्भावना बलियो बन्दै गएको छ ।

नेकपा एमालेको हालै चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनमा व्यापक जनलहर देखियो । यो जनलहरले निश्चिय पनि एमालेप्रति विश्वास गरेको छ भन्ने बुझ्न सकिन्छ । तर विगत साढे तीन वर्ष सत्ताको बागडोर हाँकेको नेतृत्वप्रति जनतामा असन्तुष्टि छाएको थियो । भ्रष्टाचारमा सरकारले कुख्याती कमाएको थियो । जनताका आवश्यकताहरु पूर्ति गर्नेतर्पm दुई तिहाई  नजिकको कम्युनिष्ट सरकारले पनि चासो देखाइएको पाइएन । यही कारणले गर्दा जनतामा कम्युनिष्टहरुबाट पनि सुशासन हुन नसकेको तितो अनुभव बन्यो । यही कारणले पार्टी विभाजित भयो । यही कारणले दुई तिहाई बहुमत निकटको सरकार केन्द्रमा र प्रदेशस्तर हुँदै स्थानीय तहमा पनि ढल्न पुग्यो । अव जनताले बहुमत दिएर पनि कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न सक्ने रहेनछ भन्ने सन्देश पुगेको छ । यो अवस्था कम्युनिष्ट पार्टीहरुको लागि निक्कै दुखद हो ।

यसैबीच नेपाली कांग्रेसको महाधिवेशन पनि निकट आइरहेको छ । नेपाली कांग्रेसको महाधिवेशनमा पनि पुरानै नेतृत्वले निरन्तरता पाउने संकेत भइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षका व्यक्तिहरु जिल्ला तहबाट निर्वाचित हुँदै महाधिवेशन प्रतिनिधिमा अध्याधिक संख्या विजयी भएर आएकाले सभापतिमा शेरबहादुरको विकल्प अरु देखिएको छैन ।

त्यसैगरी पूर्वपञ्चहरूको पार्टी’ भनेर चर्चित भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन पनि निकट आइरहेको छ । राप्रपाको महाधिवेशनले जनतामा कस्तो प्रभाव पार्ने हो भन्ने कुरा महाधिवेशन अगावै अनुमान गर्न कठिन छ । तथापि देशमा संकट थोपरिएको बेला राप्रपाले बोकेका दुईवटा एजेण्डा विशेष महत्वका देखिन्छन् । हिन्दू सापेक्ष राष्ट्र र राजसंस्थाको पुनर्वहाली लगायतका एजेण्डाहरु राप्रपाका लागि निक्कै महत्वपूर्ण छन् । राष्ट्रियता माथि विदेशी शक्तिको प्रभाव जबर्जस्त देखिएको अवस्थामा राप्रपाको नाराले अन्य राजनीतिक दलहरुलाई चुनौति दिने निश्चित छ । राप्रपाको यो महाधिवेशनलाई एकता महाधिवेशन पनि नाम दिइएको छ । पूर्वपञ्चहरु सबै यसमा समेटिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले समेत यस पार्टीलाई एकीकृत बनाउने प्रयास गरेको चर्चा पनि व्यापक छ ।

अहिले आमनागरिको भूमिकामा रुपान्तरण भइसकेका पूर्वराजा ज्ञानेन्द्र कुनै पक्षमा नखुले पनि पछिल्लो समय राजनीतिक चासो देखाउने गरेकाले पूर्वराजा ज्ञानेन्द्रबाट संप्रेशित विज्ञप्तिहरु देश र जनताका चासोका विषय बनेका छन् । दलहरुले सुशासन दिन नसकेको अवस्थामा पूर्वराजाबाट व्यक्त असन्तुष्टिले जनताको भावनालाई समेटेको महसुस गर्न सकिन्छ ।

राप्रपाको आगामी नेतृत्वका लागि अहिलेसम्म दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनमा हालसम्ममा अहिलेका तीन अध्यक्षमध्येका एक कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । अन्य दुई अध्यक्ष पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले अब उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् । शक्तिशाली महामन्त्री, उपाध्यक्षलगायत पदमा भने केहीले बाहेक आकांक्षीहरुले उम्मेदवारी सार्वजनिक गरेका छैनन् । अहिलेसम्म भुवन पाठक र धवलसमशेर राणाले मात्र महामन्त्रीमा उम्मेदवारी दिने घोषण गरेका छन् । महामन्त्रीमा धवलसमशेर राणाको अवस्था बलियो देखिन्छ । राणा नेकपा एमाले हुँदै राप्रपामा प्रवेश गरेका व्यक्ति हुन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका दुवै समूहलाई पूर्वराजा ज्ञानेन्द्रले औपचारिक रुपमा सर्मथन गरेको पाइएको छैन । तर, कमल थापापक्षले पूर्वराजाको सर्मथन आफूतिर भएको दाबी गरिरहेको छ भने लिङदेन पक्षले पनि पूर्वराजाको समर्थन आपूm तर्पm रहेको दावी गरिरहेको छ । दुवैका प्रचारका आधार पूर्वराजाको समर्थन नै देखिएको छ । तर पूर्वराजा भने दुवैको पक्षमा देखिएको पाइएको छ ।

पूर्वराजाले सकेसम्म राजसंस्था पुनर्वहाली चाहने व्यक्ति र शक्तिहरु एकीकृत हुनुपर्ने भन्दै आपूmसँग भेट्न आउनेहरुलाई भनिरहेको जानकारी प्राप्त भएको छ ।

पूर्वराजालाई केही दिनअघि राप्रपाका केही पुराना र संस्थापक नेताहरुले भेटेको एक नेताले जानकारी दिएका छन् । अध्यक्षका आकांक्षीसमेत रहेका अर्का संस्थापक नेताले आफ्नो आकांक्षा राख्दा पूर्वराजाले सकारात्मक जवाफ दिएनन् । पूर्वराजा ज्ञानेन्द्रले ती नेतालाई राजनीतिक दलको रूपमा सशक्त भएर जान सहमतिको नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएको समेत राजनीतिक बजारमा चर्चाको विषय बनेको छ ।  सहमतिमा नेतृत्व चयन गर्न पूर्वराजाले दिएको सन्देशविपरीत राप्रपा भने अहिले अध्यक्षको उम्मेदवारी घोषणा गरेका थापा र लिङदेन समूहमा विभाजित भएको छ । तीन अध्यक्षमध्येका एक डा. लोहनीले लिङदेनलाई सर्मथन गरेका छन् भने राणा हालसम्म तटस्थ देखिएका छन् । संसदवादी धारका राजनीतिक दलहरु मध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा भने  नयाँ नेतृत्व  आउने वा पुरानैले निरन्तरता पाउने भन्ने बारे निर्णय गर्न नसकिएपनि पुरानैको निरन्तरता अनुमान गर्न सकिने भएको छ ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here