मल कारखाना ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह

77

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ ।

मल कारखाना स्थापना गर्ने विषयमा लगानीकर्तालगायत अन्य सरोकारवालासँग सोमबार गरिएको छलफलमा यस्तो आग्रह गरिएको हो । कृषिमन्त्री महिन्द्रराय यादवले भने, “मल कारखाना खोल्ने निर्णय सरकारले गरिसकेको छ तर कुन प्रविधिमा गर्ने कुरा टुङ्गिएको छैन । त्यसको छिटो टुङ्गो लगाउन लगानी बोर्डलाई आग्रह गरिएको छ । ” मल कारखाना बिजुली वा ग्यास प्रविधिबाट स्थापना गर्दा के कति लागत लाग्छ, त्यसको फाइदा के छ, त्यसको विस्तृत अध्ययन गरी मन्त्रालयलाई प्रतिवेदन दिन आग्रह गरिएको बताउँदै मन्त्री यादवले प्रस्ताव आएपछि त्यसको आधारमा लगानीका लागि आह्वान गरेर कारखाना स्थापनाको कार्यलाई अगाडि बढाउने बताए ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्रराय यादवसहित अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डसहित सरोकार पक्षको सहभागिता थियो । सबैले मलको समस्या सधैँका लागि समाधान गर्न कारखाना खोल्नुपर्ने कुरामा जोड दिए । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here