काठमाडाैं । काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा अहिले सडक अस्तव्यस्त भएको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि अमेरिकी सहयाेग एमसीसीको चर्काे विरोधमा प्रदर्शन भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त समेत बनेकाे छ ।
नयाँ बानेश्वरको सडकमै मानिसहरू भेला भएर प्रदर्शन गरिरहेका छन् भने यातायात आवतजावत अस्तव्यस्त भएको हो । नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर मण्डलालगायतका ठाउँमा सडक अस्तब्यस्त भएको छ ।
अहिले तीनकुने–माइतीघर सडक खण्डमा गाडी चलाउन रोक लगाइएको छ । महानगरीय प्रहरी महाशाखाका अनुसार नयाँ बानेश्वरतर्फ जाने–आउने गाडीलाई गैरीगाउँ, तीनकुने, पुरानो बानेश्वर, न्यु प्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ । नयाँ बानेश्वर भएर यात्रा गर्ने सम्पूर्ण चालकलाई अरू नै वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । डाइभर्सनका कारण उपत्यकाको अरू ठाउँमा चाप झन् बढेको छ ।
माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा गाडी चापमा चलिरहेका छन् । मीन भवन क्याम्पस गेट, नयाँ बानेश्वरको पानी ट्याङ्की, एभरेस्ट होटल आसपासका क्षेत्रलाई भने निषेधित क्षेत्र तोकेर प्रहरीले विरोध प्रदर्शन नगर्न भनेको छ ।

















