रुस–युक्रेन द्वन्द्वका कारण स्वदेश आउनेका लागि कोभिड परीक्षण

102

काठमाडौं । रुस र युक्रेनबीचको जारी द्वन्द्व (युद्ध)का कारण स्वदेश फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षणका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्थ डेस्क स्थापना हुने भएको छ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बिहीबार बसेको बैठकले रुस–युक्रेन द्वन्द्वका कारण आउनेको कोभिड परीक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा छुट्टै स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गर्ने निर्णय गरेको हो।

हेल्थ डेस्क स्थापनाको जिम्मा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको सीसीएमसी स्रोतले जानकारी दिएको छ।

युक्रेन तथा रुसबाट आउने नेपालीहरुको विमानस्थलमै एन्टिजेन परीक्षण गरिने छ। एन्टिजेन नेगेटिभ आएकाहरुलाई स्वघोषणा गर्न लगाइ होम क्वारेन्टिनमा पठाइने छ। एन्टिजेन पोजेटिभ आएकाहरुलाई भने संस्थागत आइसोलेसनमा पठाउने गरी स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गर्ने सीसीएमसीले गरेको निर्णयमा उल्लेख छ। यस्तो व्यवस्था कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र नभएका यात्रुहरुका लागि गरिने छ।

कोभिड विरुद्धको पूर्ण खोप लगाएको १४ दिनको अवधि पूरा गरेका यात्रुहरुको हकमा हाललाई पीसीआर रिपोर्ट अनिवार्य नगर्ने र लक्षण देखिएकाहरुको हकमा हेल्थ डेस्कमै एन्टिजेन परीक्षण गरिने छ।

कोभिड १९ को संक्रमण भएका र लामो समयसम्म पीसीआर नेगेटिभ रिपोर्ट नआएकाहमको हकमा सम्बन्धित मुलुकको आधिकारिक निकायले प्रदान गर्ने कोभिड रिकभरी सर्टिफिकेटका आधारमा नेपाल प्रवेशलाई सहज बनाउने विषयमा स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्यालयले आवश्यक अध्ययन गरी सिफारिस सहित अर्को बैठकमा पेस गर्ने निर्णय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here