प्रदुषण कम गर्न युराे–६ मापदण्डमा जानुपर्ने विज्ञहरुको सुझाव

67

काठमाडौं- नेपालमा सवारी साधनबाट हुने प्रदुषण कम गर्न युराे ६ मापदण्डकाे पेट्राेलियम पदार्थ प्रयाेग गर्नुपर्ने विज्ञहरुले औंल्याएका छन्। नेपालमा युराे ६ मापदण्डका सवारी तथा त्यसमा प्रयाेग हुने इन्धन पनि युराे ६ मापदण्डकाे प्रयाेग भए दुई सय प्रतिशतभन्दा बढी प्रदुषण कम हुने उनीहरुकाे दाबी छ।

आइतबार राजधानीमा आयाेजित नेपालमा ‘वायु प्रदुषण, समस्या, चुनाैती र न्यूनीकरणका विकल्पहरु’ नामक एकदिने कार्यशालामा वायु प्रदुषणसम्बन्धी काम गर्ने विभिन्न संस्थाका विज्ञहरुले यस्ताे बताएका हुन्। साथै उनीहरुले विद्युतीय सवारी प्रयाेगमा सरकारले जाेड दिनुपर्ने सुझाव दिए।

कार्यक्रममा वायु प्रदुषण विज्ञ भुपेन्द्र दासले मालबहाक ठूला सवारीका कारण वायु प्रदुषण बढेकाे बताए। उनले भने, ‘वायु प्रदूषणका हिसाबले संसारका प्रदूषित मुलुकमध्ये नेपाल दशौँ नम्बरभित्र प्रायःजसो परिरहन्छ। त्यसैले युरो ३ बाट युरो ६ र इलेक्ट्रिकमा जाँदा वायु प्रदूषणको जोखिम निकै कम हुन्छ।

युरो ६ मा जाँदा सवारीको ग्रेड बढ्दै जाने र जति सवारीको ग्रेड बढ्छ, उति नै सवारीको  प्रविधि पनि राम्रो हुने उनकाे बुझाइ छ। उनले भने, ‘पुराना गाडीलाई व्यवस्थापन पनि  गर्नुपर्छ। सवारी आयातलाई नियन्त्रण नगर्ने हो भने युरो ३ र युरो ४ मापदण्डकै सवारी आइरहने हुन्छन्, जसले वायुमण्डलमा भयावह स्थिति झन् बढ्न सक्छ।’

पुराना गाडीका कारण सवारी प्रदूषणको मात्रा निकै उच्च रहेकाे छ। जुन जलवायु परिवर्तन र मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको विज्ञ बताउँछन्। नेपालमा २०६९ सालमा पहिलो पटक सवारी प्रदूषण मापदण्ड लागू भएको थियो। त्यतिबेला युरो १ बाट एकैपटक युरो ३ को मापदण्डमा जाने भनिएको थियो। तर, त्यस्तो निर्णय गरिएको ९ वर्षमा जम्मा २५ प्रतिशत मात्रै युरो ३ का गाडी सञ्चालनमा रहेको अध्ययनले देखाएको छ। कम युरोका गाडीबाट ब्ल्याक कार्बन, कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड र पीएम निस्कन्छ। पुराना गाडीका कारण धेरै हरितगृह ग्याँस उत्सर्जन बढाउँछ। हरितगृह ग्यासले जलवायु परिवर्तनमा भने नराम्रो असर गर्ने विज्ञहरु बताउँछन्।

खुला रुपमा फोहोर जलाउने क्षेत्रहरू कम गर्न लागि उचित फोहोर मैला व्यवस्थापन गर्नुपर्ने उर्जा तथा वातावरण केन्द्र नेपालका वरिष्ठ अनुसन्धानकर्ता रमेशमान सिंहले बताए। २० वर्ष पहिले र अहिले फाेहाेरमैला व्यस्थापनकाे तरिकामा कुनै फरक नआएकाे उनकाे निष्कर्ष छ। उनले  भने,’अहिले पनि हाम्राे वरपर विभिन्न ठाउँमा फाेहाेर तथा प्लास्टिक जलाउने गरेका कारण वायु प्रदुषणकाे जाेखिम बढेकाे छ।’ तर यस्ताे अध्ययननका लागि आफूहरुसँग पर्याप्त उपकरण नभएकाे उनकाे गुनासाे छ।

वातावरण विभागका महानिर्देशक गाेपाल प्रसाद अर्यालका अनुसार विभागले वातावरणमा सम्बन्धमा प्रभावकारी ढंगमा काम गरिरहेकाे छ। उनले भने, ‘हामीले दिगाे यातायात, उद्याेग, निर्माण गतिविधि, फाेहाेर व्यवस्थापन लगायतका ११ वटा क्षेत्र छुट्याएर काम गरिरहेका छौँ।’ युराे ६ मापदण्ड लागु गर्ने कुरामा विभाग सकारात्मक रहेकाे उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here