सर्वोच्चमा सुनुवाइ हुँदै बालकृष्ण ढुंगेल जोडिएको उज्जन श्रेष्ठ हत्या प्रकरणको मुद्दा

195

काठमाडौं । माओवादी युद्धका बेला ओखलढुङ्गाको तारकेराबारीका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ सुरु भएको छ। हत्या आरोपमा थुनामा रहेका पुष्कर गौतमविरुद्धको मुद्दाको पेसी सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासमा परेको छ।

माओवादी कार्यकर्ताले २०५५ असार १० गते गोली हानेर श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो। उज्जनको हत्याविरुद्ध जाहेरी दिएको आरोपमा भाइ गणेशकुमार श्रेष्ठको पनि हत्या भएको थियो।

उज्जनको हत्यामा ओखलढुंगा जिल्ला अदालतले तत्कालीन माओवादी नेता बालकृष्ण ढुङ्गेल र पुष्कर गौतम लगायतलाई दोषी ठहर गरेको थियो। तत्कालीन समयमा फरार रहेका गौतमलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेको थियो।

माओवादीबाट संविधान सभा सदस्य समेत भएका बालकृष्ण ढुंगेललाई पनि यही मुद्दामा सर्वस्वसहित जन्मकैद भएको थियो।

उज्जलको हत्या घटनामा ९ जनाविरुद्ध अभियोग लागेको थियो। जिल्ला अदालत ओखलढुङ्गाले ढुंगेल र गौतमसहितलाई दोषी ठहर गरेको थियो। जिल्ला अदालतले ढुंगेल र गौतमविरुद्ध सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

जिल्लाको फैसलाविरुद्ध ढुंगेलले तत्कालीन पुनरावेदन अदालत राजविराजमा पुनरावलोकन निवेदन दिएका थिए। पुनरावेदन अदालतले जिल्लाको फैसला उल्टाउँदै ढुंगले र गौतमसहितलाई सफाइ दिएको थियो।

पुनरावेदन अदालतको फैसलाविरुद्ध सरकारी वकिलले सर्वोच्च अदालतमा निवेदन दिएको थियो। सर्वोच्च अदालतले २०६६ सालमा जिल्लाकै फैसला सदर गरेको थियो।

जिल्ला अदालतको फैसलापछि पनि ढु्ंगेल र गौतमसहितका अभियुक्तहरु फरार थिए। गौतमलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेको थियो। ढुंगेल फरार रहकै बेला २०७५ कात्तिक ७ गते सर्वोच्च अदालतले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक प्रकाश अर्यालका नाममा आदेश दिएपछि उनी पक्राउ परेका थिए।

सर्वोच्चको परमादेशपछि पक्राउ परेर थुनामा रहेका ढुंगेल २०७६ सालमा राष्ट्रपतिबाट माफी पाएर रिहा भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here