राजस्व छली गर्ने ६ जना व्यक्तिविरुद्ध मुद्दा दायर

85

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको छ ।

विभागले भारतबाट भन्सार छलेर कपडा ल्याउने एक जना भारतीय नागरिकसहित ६ जनाविरुद्ध आइतबार पाटन उच्च अदालतमा सो रकम असुल गरी सजाय मागदाबीसहित मुद्दा दायर गरेको हो ।

उनीहरूबाट २१ करोड २ लाख ३८ हजार ३ सय ७३ रुपैयाँबराबरको बिगो कायम गरी सोही बिगोको शतप्रतिशत जरिमाना माग गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले आइतबार मुद्दा दायर गरिएका राजस्व छलीमा संलग्न व्यक्तिमा वीरगन्ज महानगरपालिका–१८ का रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, पाँचखाल नगरपालिका–४ काभ्रे घर भएका श्यामकुमार श्रेष्ठ, गुल्मी वाग्ला–७ स्थायी ठेगाना भएका विष्णु एन्ड विकेश सप्लायर्सका सञ्चालक विष्णुप्रसाद घिमिरे, विष्णु एन्ड विकेस सप्लायर्सको वीरगन्जमा कारोबार हेर्ने रमाशंकर गुप्ता तथा काठमाडौंको कारोबार हेर्ने मनोजकुमार कलवार र भारतीय नागरिक अमितकुमार अग्रवाल रहेका छन् ।

अनुसन्धानको क्रममा उनीहरूले राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडालगायतका मालवस्तु काठमाडौं ल्याई बिना बिलबिजक बिक्रीवितरण गरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

यस्तो कार्यमा संलग्न अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले यसअघि पनि ३ करोड ८० लाख रुपैयाँबराबर राजस्व छली गरेको अभियोगमा गत चैत तेस्रो साता मुद्दा दायर गरेको आजको राजधानी दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here