पोखराको मेयर नपाएपछि कार्यकर्ताले लगाए कांग्रेस कार्यालयमा ताला

124

कास्की । पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले बताए।

‘कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएकाले ताला लगाएका हौं,’ थापाले भने, ‘हामी कांग्रेसबाहेक अरू दललाई भोट दिन सक्दैनौं।’ सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो। गत सोमबार कास्की कांग्रेसले विज्ञप्ति निकालेर जिल्ला स्तरको गठबन्धनबाट बाहिरिन र स्वच्छ प्रतिस्पर्धामा उत्रिन समाजवादीलाई आग्रह गरेको थियो। विज्ञप्तिमा समाजवादी पार्टीलाई मेयर मात्र होइन, कुनै पनि वडामा वडा सदस्य समेत दिन नसकिने कांग्रेसले जनाएको थियो।

जिल्ला कार्यालयमा तालाबन्दीपश्चात बुधबार दिउँसो पोखराका वडा सभापतिहरूको भेला डाकिएको सचिव थापाले बताए। ‘महानगर कार्यसमिति र वडा सभापतिको भेलाले थप कार्यक्रम तय हुन्छ,’ उनले भने, ‘गठबन्धनबाट पोखराको मेयर नपाए कांग्रेस एक्लै चुनावमा जान्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here