मतदान गर्न तीन दिन बाँकी रहदा भरतपुरका कर्मचारी केन्द्रमा खटिन डराउँछन्

58

भरतपुर । स्थानीय तहको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी छ। निर्वाचनका लागि आवश्यक कर्मचारीलाई केन्द्रमा खटाउने काम अहिले भइरहेको छ। उनीहरूलाई अवश्यक तालिम दिएर केन्द्रहरूमा खटाउन थालिएको हो।

चितवनका सात स्थानीय तहहरूमध्ये भरतपुर महानगरपालिकाका मतदान केन्द्रमा मतदान अधिकृत भएर जान धेरैले अनइच्छा देखाएको पाइएको छ। निर्वाचनमा असहज परिस्थिति आउनसक्ने र यसले विवादमा परिने भन्दै उनीहरूले अनइच्छा देखाएको निर्वाचन कार्यालयका एक कर्मचारीले जनाए।

‘सकेसम्म भरतपुर महानगरपालिकामा नपारिदिए हुन्थ्यो भन्ने धेरै भेटिनुभयो,’ ती कर्मचारीले सेतोपाटीसँग भने, ‘कोही त तालिम लिइसकेपछि पनि नजान पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो।’

स्थानीय तहको निर्वाचन–२०७९ मा भरतपुर महानगरको चर्चा सर्वाधिक छ। अघिल्लो निर्वाचनमा यहाँ मतगणनाकाक्रममा मतपत्र च्यातिएको थियो। यसपालि पनि निर्वाचन निष्पक्ष हुनेमा यहाँका राजनीतिक दलहरूले नै आशंका गरिरहेका छन्।

नेकपा एमालेले अघिल्लो पटक आफ्ना उम्मेदवारलाई हराउन निर्वाचनमा धाँधली भएको भन्दै यसपालि पनि धाँधली हुनसक्ने आशंका गर्ने गरेको छ। पहिलेको जस्तो घटना नहोस् भनेर यसपाली मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ।

‘निर्वाचन अघि नै विभिन्न खाले हल्ला चलिरहेका छन्। यसको घानमा परिन्छ कि भन्ने डर त मनमा छ,’ मतदान अधिकृतकारुपमा खटिन लागेका एक कर्मचारीले भने, ‘सुरक्षा व्यवस्था कडा हुन्छ ढुक्क हुनुस् भनिएकाले काम गर्ने निर्णय गरेको छु।’

अरू केही कर्मचारीले पनि भरतपुरको निर्वाचनमा रहरले नखटिएको सुनाए। ‘देशको निर्वाचनमा राष्ट्रसेवक कर्मचारी नखटिए को खटिने, तैपनि सकेसम्म नखट्न पाए आनन्दै हुन्थ्यो भन्ने थियो,’ पश्चिम चितवनमा खटिएका एक अधिकृतले भने, ‘अब त पछाडि हट्ने कुरा भएन। काममा लागिसकें।’

अन्य स्थानीय तहका मतदान केन्द्रमा खटिएका कर्मचारीले व्यवस्थापनको पाटोमा असन्तुष्टी रहेको बताए। ‘सुरक्षाको ग्यारेन्टी गर्छौं त भन्नुभएको छ तर सक्ने भन्दा बढी बोझ अधिकृत माथि थोपरिएको छ,’ कालिका नगरपालिकामा खटिएका एक अधिकृतले भने, ‘निर्वाचन गराउन खटिँदैगर्दा जस्तो मनोवलका साथ खट्नुपर्ने हो त्यो यसपालि छैन।’

तर मूख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेल भने मतदान केन्द्रमा जानै नचाहने अवस्था नदेखिएको बताउँछन्। ‘केही कर्मचारीहरूले स्वास्थ्य, घरायसी अवस्थालगायतलाई देखाएर अनइच्छा देखाउनुभयो। त्यो स्वभाविकै पनि हो,’ पौडेलले भने, ‘यो अवस्था त देशभर नै छ। भरतपुरमा मात्रै यस्तो भयो भन्न मिल्दैन।’

उनले केही कर्मचारीहरू आफूले किन अवसर पाइएन भनेर पनि आइरहेको बताए। उनले भरतपुरका सबै केन्द्रमा आवश्यक कर्मचारीहरू पुगिसकेको जनाए। आइतबार साँझ भरतपुरमा अनिल परियार नामका एक युवकको हत्या भएको थियो। केही दिनअघि खैरहनी नगरपालिकामा एक व्यक्ति अज्ञात समूहको आक्रमणबाट घाइते भएका थिए। घाइते भएका कुमार थापा युवा संघका नेता रहेको नेकपा एमाले चितवनले जनाएको छ।

नेपाली कांग्रेसले परियार आफ्नो पार्टीका कार्यकर्ता रहेको बताएको छ। उसले घटना राजनीतिक विषयमा भएको दाबी गरेको त छैन तर निर्वाचनको समयमा भएको यो घटनाले जनतामा त्रास पैदा भएको बताएको छ। घटनापछि कांग्रेसका कार्यकर्ताहरूले सुरक्षाको माग गर्दै भरतपुरमा प्रदर्शन गरेका थिए। पाँच दलीय गठबन्धन र नेकपा एमालेले पनि बक्तव्य जारी गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गरेका थिए।

चितवन प्रशासनले भने निर्वाचन निष्पक्ष र भयरहीत ढंगले सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भरतपुरमा भएको हत्याको घटना राजनीतिक विषयसँग सम्बन्धित नभएको दाबी गरे। ‘यो विषय राजनीतिक विषयसँग जोडिएको छैन। प्रहरीले धेरै कुरा पत्ता लगाइसकेको छ। हत्यामा संलग्न व्यक्तिको पहिचान पनि भइसकेको छ,’ तामाङले भने, ‘यो घटनालाई हेरेर निर्वाचनको स्वच्छतामा प्रश्न गर्नु आवश्यक छैन।’  यो घटनामा अहिले केन्द्रीय अनुसन्धान व्युरो(सिआइबी), नेपाल प्रहरीको बागमती प्रदेशको टोली भरतपुरमा बसेर अनुसन्धान गरिरहेको छ।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले निर्वाचन सुरक्षाका लागि सबै तयारी पुरा भएको बताए। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धनासहितको एकीकृत सुरक्षा रणनीतिअन्तर्गत सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू खटाउन थालिएको एसपी अधिकारीले जनाए । उनले मतदान स्थलमा व्यापकरुपमा नेपाली सेना रहने र मोवाइल गस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने जनाए । केन्द्रीय सुरक्षा नीतिअनुसार सबैको भूमिका निर्धारण गरिएकोले सोही बमोजिम अपुग जनशक्ति बाहिरबाट ल्याएर पनि परिचालन गरिने उनले जनाए ।

यसबाहेक नियमित सुरक्षाका लागि न्यनतम जनशक्ति भए पनि यसलाई पूर्णरुपमा खटाएर सुरक्षाको प्रत्याभूति गराउने उनले जनाए ।

‘निष्पक्ष चुनाव हुँदैन कि भन्ने कतिपयको आशंका छ। तर ती कुरालाई चिरेर निष्पक्ष, भयरहीत र पारदर्शीरुपमा चुनाव सम्पन्न गराउने लक्ष्य हाम्रो छ,’ एसपी अधिकारीले भने, ‘मतदाता, राजनीतिक दललाई संयमित भएर अपराधिक गतिविधिलाई नियन्त्रण, निरुत्साहित गर्न प्रहरीलाई सहयोग गर्न अनुरोध गर्छु।’

भरतपुर महानगरपालिकामा ६५ वटा मतदानस्थल र २ सय २ वटा मतदान केन्द्र तोकिएको छ। यहाँ १ लाख ८५ हजार ७५२ जना मतदाता छन्। रत्ननगर नगरपालिकामा २१ वटा मतदानस्थल र ६० वटा केन्द्र, कालिका नगरपालिकामा ११ वटा मतदान स्थलमा ३७ केन्द्र, खैरहनी नगरपालिकामा १७ मतदानस्थल र ५१ केन्द्र तोकिएका छन्। त्यस्तै, राप्ती नगरपालिकामा १८ मतदानस्थल र ४७ केन्द्र, माडी नगरपालिकामा १५ मतदान स्थल र ३२ केन्द्र तोकिएको छ। इच्छाकामना गाउँपालिकामा १४ मतदानस्थल र २२ वटा मतदान केन्द्र तोकिएको छ।

चितवनमा मतदाताको संख्या ३ लाख ९७ हजार ६८५ छ। यसका लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here