विराटनगर । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा बढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ।
नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो ।
मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १०७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको हो।
नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार वीरेन्द्रकुमार साहका अनुसार ३ हजार २४२ मत खसेको वडामा हाल ३ हजार ३४९ वटा मतपत्र भेटिएको हो।
हालसम्म २ हजार १ सय ३३ मतगणना भइसकेको अवस्थामा अब १ हजार २६ मत गणना हुन बाँकी छ।
यता, निर्वाचन अधिकृत काफ्लेले कम्प्युटरमा चढाउँदा मत बढी देखिएको बताउँछन्। उनका अनुसार १ सय वटा मतपत्रको इन्ट्री डबल पर्दा समस्या देखिएको हो।
बाकसमा भएको मतगणनामा बढी देखिएको वा भएको पाए त्यही अनुसार प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ।
हाल यसै विषयमा दलका नेताहरूसँग छलफल भइरहेको निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए।
वडामा नेकपा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट वीरेन्द्रकुमार साह, नेकपा माओवादी केन्द्रबाट बद्रीनारायण राजवंशी, जसपाबाट पवनकुमार सोनी, लोसपाबाट चतुरलाल केवट, राप्रपाबाट अरविन्दकुमार साह, जनमत पार्टीबाट मनोजकुमार साह रहेका छन्।
















